ललितपुर । रसुवाको भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीमा परी ललितपुर घर भएका र ललितपुर बसोबास गर्ने १ सय ५७ जना अहिलेसम्म सम्पर्कविहीन छन् ।
उनीहरूको खोजी तथा उद्धार कार्य जारी रहेको ललितपुरका प्रमुख जिल्ला अधिकारी नरहरि घिमिरेले जानकारी दिनुभएको छ ।
सम्पर्कविहीन भएकामध्ये नौ जना फेला परेका छन् । फेला पर्नेमा तीन जना पुरुष, दुई जना महिला र चार जना बालबालिका छन् ।
हाल १ सय १५ जना पुरुष, ३९ जना महिला र तीन जना बालकको खोजी भइरहेको प्रजिअ घिमिरेले बताउनुभएको छ ।
सम्पर्कविहीनमध्ये अन्य जिल्लाको स्थायी ठेगाना भई ललितपुरमा बसोबास गर्ने ९९ जना छन् । उनीहरूमा ८१ जना पुरुष, १७ जना महिला र एक जना बालक छन् ।
बाढीमा परी ललितपुरमा बसोबास गर्ने ४१ जना विदेशी नागरिकसमेत सम्पर्कविहीन छन् । उनीहरूमा २० जना महिला, १९ जना पुरुष र दुई जना बालक रहेका छन् ।
सम्पर्कविहीन विदेशी नागरिकमध्ये युक्रेनका १३, अस्ट्रेलियाका १०, अमेरिका र भारतका पाँच-पाँच, चीनका चार, कोरियाका तीन र बेलायतका एक जना छन् ।
प्रजिअ घिमिरेका अनुसार बाढीमा परी घाइते भएका २४ जनामध्ये २० पुरुष, तीन महिला र एक बालिका रहेका छन् । तीमध्ये २२ जना उपचारपछि घर फर्किसकेका छन् ।
एक पुरुषको ग्वार्कोस्थित बी एन्ड बी अस्पतालमा र एक बालिकाको वीरेन्द्र सैनिक अस्पताल छाउनीमा उपचार भइरहेको प्रजिअ घिमिरेले जानकारी दिनुभएको छ ।
बाढीमा परी मृत्यु भएका पाटन सुन्धाराका दुई जनाको शवसमेत परिवारको जिम्मा लगाइएको छ । मृत्यु पुष्टी हुनेमा एक जना महिला र एक जना पुरुष रहेका छन् ।
शव व्यवस्थापनमा सकस भएको भन्दै मृत्यु भएका तर पहिचान नभएका सयौँ शव विभिन्न जिल्लामा गाडिएको छ ।