पोखरा । खस क्षेत्रीहरूको साझा संस्था क्षेत्री समाज नेपालले २०८२ भदौ २३ र २४ गते जेनजी आन्दोलनको क्रममा काठमाडौंसहित विभिन्न जिल्लामा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना व्यक्त गरेको छ ।
साथै घाइतेको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै घटनामा संलग्न दोषीमाथि कडा कारबाहीको माग गरेको छ ।
अध्यक्ष रिबबहादुर थापा र महासचिव कृष्णबहादुर थापाद्वारा जारी शोक विज्ञप्तिमा आन्दोलनका क्रममा राष्ट्रिय सम्पदा, कार्यालय तथा व्यक्तिगत सम्पत्तिमा भएको क्षतिको निन्दा गर्दै नागरिकको जिउधनको सुरक्षाका लागि सरकारले उच्च सुरक्षा व्यवस्था मिलाउन आग्रह गरिएको छ । घटनाको निष्पक्ष र विश्वसनीय छानबिन गरी दोषीलाई कारबाही गर्न समाजले जोड दिएको छ ।
समाजले संविधान र अन्तर्राष्ट्रिय मानवअधिकारका मान्यताअनुरूप नागरिकका उचित आवाजलाई सम्बोधन गर्न सरकारलाई आह्वान गर्दै नयाँ सरकार दीर्घकालीन शान्ति, स्थायित्व र विकासका काममा सक्षम होस् भन्ने शुभकामना व्यक्त गरेको छ ।
यसैबीच, समाजले विगतमा घटस्थापनाको दिनलाई “क्षेत्री दिवस” का रूपमा मनाउँदै आएको भए पनि यसवर्षको राष्ट्रिय परिस्थितिलाई मूल्याङ्कन गर्दै जिल्लागत रूपमा अनुकूलता हेरी मात्र कार्यक्रम गर्न आग्रह गरेको छ ।