पोखरा । फेवातालको सिमसार क्षेत्रमा अवैध रूपमा माटो पुरेको तथा डोजर प्रयोग गरी डाँडा कटान गरेको आरोपमा पोखरा महानगरपालिका–१८ पामेबाट व्यवसायी युवराज खतिवडालाई प्रहरीले पक्राउ गरेको छ ।
धादिङ स्थायी घर भई पोखरालाई कर्मक्षेत्र बनाउँदै आउनु भएका खतिवडालाई २०८२ पुस ७ गते सिमसार क्षेत्र पुर्दै गरेको अवस्थामा रङ्गेहात नियन्त्रणमा लिइएको कास्की प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अनुमति नलिई भीर तथा डाँडामा डोजर लगाएर ढुङ्गा–माटो निकाल्ने र फेवातालसँग जोडिएको सिमसार क्षेत्र पुरिरहेको सूचनाका आधारमा प्रहरी टोली घटनास्थल पुगेको थियो ।
सो क्रममा सोधपुछ गर्दा खतिवडाले प्रहरीलाई दुर्व्यवहार तथा धम्की दिएको आरोप लागेको छ ।
बैदाम प्रहरी वृत्तका डिएसपी भट्टराईका अनुसार घटनास्थलबाट चार ओटा ट्रिपर र एक स्काभेटरको चाबी नियन्त्रणमा लिइएको छ ।
“अनुमतिबिना डाँडा कटान र सिमसार पुरिरहेको अवस्थामा भेटिएपछि सोधपुछ गर्दा उहाँले प्रहरीमाथि अभद्र व्यवहार गर्नु भयो ।” डिएसपी भट्टराईले भन्नुभयो“घटनाको विषयमा विस्तृत अनुसन्धान भइरहेको छ ।”
स्थानीय प्रत्यक्षदर्शीका अनुसार खतिवडाले प्रहरीलाई सरुवा गरिदिने धम्की दिएको, प्रहरीको गाडीमा जान अस्वीकार गरेको तथा ‘हिजोसम्म पुर्दा केही नगर्ने आज किन रोक्ने’ भन्दै दादागिरी शैलीमा प्रस्तुत भएको बताएका छन् ।
पोखराको लेकसाइड तथा पामे क्षेत्र वातावरणीय दृष्टिले संवेदनशील सिमसार क्षेत्रअन्तर्गत पर्ने भए पनि केही वर्षदेखि विभिन्न व्यक्तिको जग्गा पुर्ने ठेक्का लिएर काम हुँदै आएको भन्दै स्थानीयले चिन्ता व्यक्त गरेका छन् ।
खतिवडा पटकपटक विवादमा तानिँदै आए पनि प्रभाव र पहुँचका कारण कानुनी कारबाहीबाट जोगिँदै आएको आरोप पनि स्थानीयस्तरमा उठ्दै आएको छ ।
प्रहरीले पुस ७ गते साँझ खतिवडालाई नियन्त्रणमा लिई हिरासतमा राखेको छ । घटनामा संलग्नता, सम्भावित दबाब र सिमसार अतिक्रमणको विषयमा निष्पक्ष र गहिरो अनुसन्धान गर्नुपर्ने माग स्थानीय नागरिक र सरोकारवालाहरूले गरेका छन् ।