मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

दक्षिण ललितपुरको विषय नबुझी बोल्दा विवादमा खरेल

ललितपुर । आफैँ सहभागी सरकारले बजेट काटेको जीर्ण सडकमा उभिएर पुराना राजनीतिक दललाई कटाक्ष गर्नु भएका जगदीश खरेल अहिले सामाजिक सञ्जालमा ट्रोल बन्नु भएको छ ।

लेले चन्दनपुर ठुलादुर्लुङ हुँदै फापरबारी छिचोल्ने बाटोको रकम जेनजी आन्दोलनपछि बनेको सरकारले काटेको हो । यही सरकारमा सञ्चारमन्त्री र सरकारको प्रवक्ताका रुपमा खरेल रहनु भएको थियो ।

चुनावी अभियानमा ललितपुर क्षेत्र नं १ मा रहनुभएका जगदीश खरेलले आश्राङबाट मानव आवाजलाई भन्नु भयो-‘बजेटको विषय मैले बुझ्न बाँकी छ । हाम्रो सरकारले काट्नु पर्ने कुनै कारण नै थिएन । जे होस् बाटो नराम्रो छ । बनाउनु पर्छ । थप कुरा बुझेपछि मात्रै गर्छु ।’

जेनजी आन्दोलनपछि बनेको गैरदलीय सरकारमा सहभागी हुनुभएका पत्रकार खरेलले उम्मेदवारी दर्ता गर्नु केही अगाडि मात्रै मन्त्री पदबाट राजीनामा दिनु भएको थियो ।

उहाँले २०८२ माघ १० गते चुनावी दौरानका क्रममा केही समर्थक र शुभचिन्तकलाई अगाडि राखेर बाटोघाटोमा यसअघिका जनप्रतिनिधिले काम नगरेको बताउनु भएको थियो ।

यो बाटोको बारेमा निरन्तर वकालत गर्दै आउनु भएका पत्रकार अमृतनाथ तिमल्सिनाले यो बाटो राजेन्द्र पाण्डे बागमती प्रदेशको मुख्यमन्त्री हुँदा काम अघि सारिएको बताउनु भयो ।

पाण्डे मुख्य मन्त्री भएका बेलामा तुल्सीलाल राजमार्गको नाममा प्रस्तावित यो बाटोका लागि त्यसै बेलादेखि काम काज थालिएको थियो । तर यसको मुर्त रुप दिनलाई भने २०८२ असार ५ गते ठेक्का लागि सहमति दिइएको थियो ।  

सरकारले काठमाडौं उपत्यकाबाट तराई जोड्ने वैकल्पिक राजमार्गका रूपमा प्रस्ताव गरिएको लेले–भारदेउ–चन्दनपुर–ठूलादुर्लुङ सडक आयोजनाको बजेट ठूलो मात्रामा कटौती गरेको छ ।

अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ को बजेटमा प्राथमिकतामा राखिएको यस आयोजनाका लागि प्रस्तावित २५ करोड रुपैयाँमध्ये २४ करोड ७३ लाख रुपियाँ रोक्का गरेको छ ।

यस्तै, वैकल्पिक सहायक राजमार्ग विकास कार्यक्रमअन्तर्गत विनियोजन गरिएको ८ करोड रुपैयाँमध्ये ६ करोड रुपियाँ कटौती गरी २ करोडमा सीमित गरिएको राजधानी दैनिकले उल्लेख गरेको छ।  

अर्थ मन्त्रालयका प्रवक्ता टङ्कप्रसाद पाण्डेयले सामान्यतया ३ करोडभन्दा माथिका तथा बहुवर्षीय ठेक्कामा गएका आयोजनाहरू कटौती नहुने बताए । तर बजेट अख्तियारी प्रणालीमार्फत रकम रोक्का भएपछि सडक विभाग ठेक्का प्रक्रिया अघि बढाउने विषयमा अन्योलमा परेको प्रभावित क्षेत्रका सरोकारवालाको भनाइ छ ।

मन्त्रालय स्रोतका अनुसार राजनीतिक पहुँचका योजनाको नाममा वैकल्पिक राजमार्गको बजेट कटौती गरिएको हो ।

यसले उपत्यकाबाट तराई आवागमन सहज बनाउने प्रयासमाथि अन्याय भएको कोन्जोसोम गाउँपालिकाका अध्यक्ष कृष्णमान लामाले बताउनु भयो ।

Author

Related News