ललितपुर । गृह मन्त्रालयले राष्ट्रिय झण्डाको प्रयोग गर्दा त्यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्न आग्रह गरेको छ ।
मन्त्रालयले आज विज्ञप्ति जारी गरी भनेको छ, ‘राष्ट्रको गौरव र स्वाभिमानको प्रतीक राष्ट्रिय झण्डाको प्रयोग गर्दा यसको उच्च गरिमा र मर्यादालाई ध्यानमा राखी प्रचलित कानुनबमोजिम मात्र प्रयोग गर्नु होला, अन्यथा यसको दुरुपयोग भएको पाइएमा कानुनबमोजिम कारबाही हुने व्यहोरा गृह मन्त्रालय सबैमा हार्दिक अनुरोध गर्दछ ।’
निर्वाचन आचारसंहिता, २०८२ को परिच्छेद ४, दफा १३ को खण्ड (न) मा दल वा उम्मेदवारले जुलुस, आमसभा, कोणसभा, घरदैलो भेटघाट वा जुनसुकै प्रकारको र्याली गर्दा बढीमा १० वटा राष्ट्रिय झण्डा प्रयोग गर्नबाहेक निर्वाचन प्रचारप्रसार गर्दा राष्ट्रिय झण्डा प्रयोग गर्न गराउन नहुने व्यवस्था गरिएको मन्त्रालयको भनाइ छ ।
त्यसैगरी मुलुकी अपराधसंहिता, २०७४ को दफा १५१ मा नेपालको राष्ट्रिय झण्डाको अपमान गर्न वा सार्वजनिक नैतिकता, शिष्टाचार वा सदाचारको दृष्टिकोणले प्रयोग गर्न नहुने ठाउँ वा अवस्थामा नेपालको राष्ट्रिय झण्डा प्रयोग गर्न नहुने व्यवस्था रहेको र सो को उल्लङ्घन भएमा सजायको व्यवस्थासमेत गरिएको छ ।
