पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पोखरा महानगरपालिकाको प्रथम अधिवेशनबाट आगामी पाँच वर्षे कार्यकालका लागि यातायात व्यवसायी तथा सामाजिक व्यक्तित्व योगेन्द्रबहादुर केसी सभापतिमा निर्विरोध निर्वाचित हुनुभएको छ ।
“सुशासन, समतामूलक उन्नति, उदार अर्थतन्त्र तथा सामाजिक न्यायसहितको बहुलवादी लोकतन्त्र” भन्ने नारासहित २०८३ जेठ १६ गते पोखरामा सम्पन्न अधिवेशनले केसीको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।
अधिवेशनलाई सम्बोधन गर्दै रास्वपाका नेता तथा कास्की क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य खड्कराज पौडेल (गनेस) ले पार्टीले जनताको हकहित र अपेक्षाअनुसार काम गर्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले सङ्गठन विस्तार, सुशासन र जनमुखी राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउने लक्ष्यसहित नयाँ नेतृत्व चयन भएको बताए ।
त्यसैगरी, कास्की क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य उत्तमप्रसाद पौडेलले सुकुम्बासी बस्ती व्यवस्थापन र त्यसको दिगो सञ्चालनलाई सरकारले प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभयो ।
गण्डकी प्रदेशका प्रवक्ता तथा निर्वाचन अधिकृत शङ्कर पन्तका अनुसार अधिवेशनबाट उपसभापति, सचिव, सहसचिव तथा कोषाध्यक्षसहित २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ ।

नयाँ कार्यसमितिको उपसभापतिमा सङ्गीता गौतम, सचिवमा कमल बानियाँ, सहसचिवमा सरिता शर्मा र कोषाध्यक्षमा विष्णु बराल निर्वाचित हुनुभएको छ ।
नवनिर्वाचित सभापति केसीले पोखरा महानगरभित्र पार्टी सङ्गठनलाई थप सुदृढ बनाउँदै जनताका मुद्दा र सरोकारलाई प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
नयाँ कार्यसमितिले आगामी पाँच वर्षमा पोखरामा पार्टीका गतिविधिलाई व्यवस्थित र प्रभावकारी ढङ्गले सञ्चालन गर्दै आमनागरिकको हितमा काम गर्ने लक्ष्य लिएको गण्डकी प्रदेशका प्रतिनिधि दीपेन्द्र पोखरेलले जानकारी दिनुभयो ।