मधु पन्थी, पोखरा ।
गण्डकी प्रदेशको राजधानी रहेको जिल्ला कास्की गण्डकीको सातौँ पूर्णखोप सुनिश्चितता जिल्ला घोषणा भएको छ।
जिल्ला खोप समन्वय समिति कास्कीले औपचारिक कार्यक्रमको आयोजना गरी स्थानीय स्रोतको उपयोग, “स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चित जिल्ला हाम्रो प्रतिबद्धता” भन्ने नाराका साथ कास्की जिल्ला पूर्णखोप सुनिश्चितता दिगोपना घोषणा कार्यक्रम २०८२ असार १६ गते पोखरामा गरिएको हो ।
गण्डकी प्रदेशका स्वास्थमन्त्री कृष्णप्रसाद पाठकले गण्डकी प्रदेशलाई स्वास्थ्य क्षेत्रमा अब्बल बनाउँदै प्रदेश सरकार मातहतका अस्पतालहरूको स्तरोन्नतिसँगै आमनागरिकलाई सचेतनाको वृद्धि गराई रोगबाट सुरक्षित राख्न सर्ने र नसर्ने दुवै रोगबाट नागरिक सुरक्षित भए मात्र समृद्धिको यात्रा सहज हुने बताउनु भयो
मन्त्री पाठकले अस्पतालहरूको क्षमता वृद्धिसँगै सेवा-सुविधा तथा नागरिक स्वास्थ्य कार्यक्रमहरूलाई उच्च प्राथमिकतामा राखेको बताउदै स्वास्थ्य जनशक्ति प्रदेशमै उत्पादन गर्न र प्रदेशमा विशिष्टीकृत अस्पतालहरू सञ्चालनको तयारी भइरहेकोले यसलाई कार्यान्वयन गरिनेमा जोड दिनुभयो ।
कार्यक्रमका सहजकर्ता एवम् जिल्ला खोप समन्वय समितिका सदस्य सचिव तथा जनस्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीका अनुसार स्थानीय तहमा सर्वेक्षणमा फेला परेका बालबालिकामध्ये पूर्णखोप प्राप्त ४ हजार ७ सय १६ र ४६ जना ड्रप आउट गरी पूर्णखोप सुनिश्चितता तथा दिगोपन घोषणाको समयमा पूर्णखोप भएको सङ्ख्या ४ हजार ७ सय ६२ जना रहेका छन् ।
जसमा अन्नपूर्ण गाँउपालिकाका १ सय ५६ जना र पाँच जना ड्रप आउट गरी १ सय ६१ जना, माछापुच्छ्रे गाउँपालिकाका २ सय ३८ जना, मादी गाउँपालिकाका ९४ जना, पोखरा महानगरपालिकाका ४ हजार १ सय ९ जना र ४१ जना ड्रप आउट गरी ४ हजार १ सय ५० जना र रूपा गाउँपालिकाका १ सय १९ जना रहेका छन् ।
प्रदेश खोप समन्वय समितिकाका सदस्य सचिव खिमबहादुर खड्काले जिल्लालाई र जिल्ला खोप समन्वय समिति कास्कीले पाँच ओटा स्थानीय तहहरू पोखरा महानगरपालिका, मादी गाँउपालिका, अन्नपुर्ण गाँउपालिका, माछापुछ्रे गाँउपालिका र रुपा गाँउपालिकालाई पूर्णखोप सुनिश्चितताको प्रमाण-पत्र हस्तान्तरण गरिएको बताउनु भयो ।
कार्यक्रममा पोखरा महानगरपालिका, माछापुच्छ्रे र मादी गाँउपालिकाका ६० वर्ष उमेर माथिका महिला स्वास्थ्य स्वयम्सेविकाहरुलाई प्रशंसापत्र, खादा र टिका लगाई सम्मान गरिएको थियो ।
जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेल, कास्की जिल्लाका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा,नेकपा एमाले कास्कीका अध्यक्ष बैनबहादुर अधिकारी क्षेत्री, नेपाली कांग्रेस कास्कीका सचिव नविन सिग्देल, राष्ट्रिय स्वतन्त्र पार्टी कास्कीका अध्यक्ष यदु अधिकारी, प्रादेशिक स्वास्थ्य तालिम केन्द्र गण्डकी प्रदेश महानिर्देशक खिमबहादुर खड्का, प्रादेशिक आपुर्ति व्यवस्थापन केन्द्र गण्डकी प्रदेशका महानिर्देशक डा.रेखा पौडेल, प्रादेशिक क्षयरोग नियन्त्रण केन्द्र पोखरा डा. सुनिल गौतम, जिल्ला समन्वय समिति कास्कीका समन्वय अधिकारी नवराज बराल, नेपाल पत्रकार महासङ्घ कास्कीका अध्यक्ष माधवप्रसाद बराल लगायतले बोल्नु भएको थियो।
आजै स्वास्थ मन्त्री कृष्णप्रसाद पाठकले यसै वर्ष स्तरोन्नति गरिएका गण्डकी प्रदेश मातहतका दुई आयुर्वेद अस्पताल र दुई प्रादेशिक अस्पताल गरी चार ओटा अस्पताललाई चार थान सवारी साधन हस्तान्तरण गर्नु भयो ।
अस्पतालहरूको सेवा विस्तारलाइ मध्यनजर गरी सुदृढीकरण गर्ने क्रममा बुर्तिवाङ प्रादेशिक अस्पताल, बागलुङ, आँपपिपल अस्पताल, गोरखा, धौलागिरी आर्युवेद अस्पताल, बागलुङ र गण्डकी आर्युवेद अस्पताल, कास्कीलाई सवारी साधन दिइएको हो ।
