पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारीद्वय चित्राङ्गत बराल र थमनसिंह गौतमको सरुवा भएको छ ।
बजार अनुगमन तथा प्रशासनिक काममा सक्रिय बराललाई सङ्घीय मामिला मन्त्रालयको अतिरिक्त समूहमा सरुवा गरिएको छ भने गौतमलाई स्याङ्जाको वालिङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको छ ।
बरालको स्थानमा रमेश घर्ती र गौतमको स्थानमा रामचन्द्र लामगादे आउनुभएको छ । दुवै जना यसअघि स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृतका रूपमा कार्यरत रहेको बताइएको छ ।
बजार अनुगमनमा सक्रिय बरालको अवधि नपुग्दै सरुवा
जिल्ला प्रशासन कार्यालय कास्कीमा सहायक प्रमुख जिल्ला अधिकारी, सूचना अधिकारी तथा जिल्ला अनुगमन निरीक्षकको जिम्मेवारीमा रहनुभएका बराल बजार अनुगमनमा सक्रिय हुनुहुन्थ्यो ।
उहाँले फलफूल तथा जुस पसल, स्पा, रात्रिकालीन व्यवसाय र फेवातालमा सञ्चालित डुङ्गाको व्यवस्थापन तथा नियमनलाई प्राथमिकता दिनुभएको थियो ।
अनुगमनका क्रममा कैफियत भेटिएका व्यवसायीमाथि तत्काल कारबाही गर्नुका साथै केही उद्योगी तथा व्यापारीविरुद्ध मुद्दासमेत चलाइएको थियो ।
बजार अनुगमनलाई प्रभावकारी र पारदर्शी बनाउन उनले प्रहरी प्रशासन, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा, पोखरा महानगरपालिका, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडको प्रादेशिक कार्यालय, उपभोक्ता मञ्च तथा सञ्चारकर्मीलाई सहभागी गराउँदै आउनुभएको थियो ।
पछिल्ला महिनामा खाना पकाउने ग्यासको अभावलाई सहज बनाउन तथा वितरण प्रणाली सुधार्न पनि बराल सक्रिय हुनुहुन्थ्यो ।
उपभोक्ताका गुनासा प्राप्त हुनासाथ शनिबार, आइतबार र सार्वजनिक बिदाका दिनसमेत उहाँले अनुगमनमा नेतृत्व प्रदान गर्दै आउनुभएको थियो ।
बरालले कास्कीमा दुई वर्षको अवधि पूरा नगर्दै सरुवा हुनुपरेको छ । बजार अनुगमनका क्रममा केही व्यवसायी कारबाहीमा परेपछि पोखरा उद्योग वाणिज्य सङ्घले व्यवसायीले वर्षौं लगाएर बनाएको ब्रान्डमा क्षति नपुग्ने गरी कारबाही गर्नुपर्ने माग राखेको थियो । सङ्घले यस विषयमा प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङलाई ध्यानाकर्षणपत्रसमेत बुझाएको थियो ।
गौतमको पनि तीन महिनामै सरुवा
२०८३ असार २६ गते कास्कीमा हाजिर हुनुभएका सहायक प्रमुख जिल्ला अधिकारी थमनसिंह गौतमले करिब तीन महिना काम गरेर २०८३ असोज २६ गते रमाना लिनुभएको छ ।
उहाँ नागरिकता शाखाको जिम्मेवारीमा हुनुहुन्थ्यो । यसअघि लमजुङमा सहायक प्रमुख जिल्ला अधिकारीका रूपमा कार्यरत गौतमलाई स्याङ्जाको वालिङ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरिएको छ ।
गौतम दक्षिण कोरियामा रोजगार अनुमति प्रणाली (ईपीएस) मार्फत पाँच वर्ष काम गरेर नेपाल फर्किएपछि निजामती सेवामा प्रवेश गर्नुभएको हो ।
बराल र गौतम दुवैको छोटो अवधिमै सरुवा भएपछि कर्मचारीको सरुवा प्रणाली र प्रशासनिक स्थिरताबारे प्रश्न उठेका छन् ।
कर्मचारी सरुवालाई अनलाइन प्रणालीमा आधारित बनाइएको सरकारको दाबी रहे पनि छोटो अवधिमै जिम्मेवारी परिवर्तन हुँदा कार्यसम्पादन र सेवाप्रवाहमा असर पर्न सक्ने चिन्ता व्यक्त गरिएको छ ।
सुशासन र नागरिकलाई न्याय दिने प्रतिबद्धता व्यक्त गरेको सरकारले जिम्मेवारीमा सक्रिय कर्मचारीलाई अवधि नपुग्दै सरुवा गर्दा त्यसको औचित्य स्पष्ट पार्नुपर्ने देखिन्छ ।
सरुवाका पछाडि कुनै स्वार्थ समूहको दबाब वा प्रभाव रहेको भन्ने चर्चा भए पनि त्यसलाई पुष्टि गर्ने प्रमाण सार्वजनिक नभएसम्म निष्कर्षमा पुग्नु उचित हुँदैन ।
सार्वजनिक प्रशासन नागरिकमुखी, जवाफदेही र स्थिर हुन आवश्यक छ । कर्मचारीलाई पर्याप्त समय काम गर्न दिने, कार्यसम्पादनका आधारमा मूल्याङ्कन गर्ने र सरुवाको निर्णयलाई पारदर्शी बनाउने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन भएमा इमानदार कर्मचारीको मनोबल बढ्न सक्छ ।
चाडपर्वमा बजार अनुगमनलाई निरन्तरता दिनुपर्ने
सहायक प्रमुख जिल्ला अधिकारीहरूको सरुवासँगै कास्कीमा बजार अनुगमन र आपूर्ति व्यवस्थापनको जिम्मेवारी नयाँ अधिकारीहरूमा सरेको छ ।
चाडपर्वका बेला उपभोग्य वस्तुको कृत्रिम अभाव हुन नदिन, मूल्य नियन्त्रण गर्न र गुणस्तरीय वस्तुको सहज उपलब्धता सुनिश्चित गर्न बजार अनुगमनलाई निरन्तरता दिनुपर्ने आवश्यकता छ ।
बजारको अवस्था, वस्तुको गुणस्तर, मूल्य र मौज्दातको नियमित अनुगमनसँगै उत्पादक, आपूर्तिकर्ता तथा व्यवसायीसँग मौज्दातको विवरण लिने र आपूर्ति व्यवस्थापनको वास्तविक अवस्था बुझ्ने कामलाई प्रभावकारी बनाउन आवश्यक छ ।
नयाँ जिम्मेवारीमा आएका अधिकारीहरूले विगतमा सुरु गरिएका सकारात्मक कामलाई निरन्तरता दिँदै उपभोक्ताको हित संरक्षण, व्यवसायीको वैध अधिकारको सम्मान र प्रशासनिक पारदर्शितालाई प्राथमिकता दिनुपर्ने देखिन्छ ।