मानव आवाज

२०८३ भदौ १२ गते
00: 00: 00
२०८३ भदौ १२ गते

कास्की प्रशासनद्वारा अनधिकृत राहत तथा चन्दा सङ्‌कलन नगर्न आग्रह

पोखरा । रसुवा जिल्लाको भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट ठूलो जनधनको क्षति भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले अनधिकृत रूपमा राहत तथा चन्दा सङ्कलन नगर्न आग्रह गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी तथा सूचना अधिकारी चित्राङ्गत बरालले २०८३ भदौ ११ गते सूचना जारी गर्दै बाढी प्रभावितको राहत तथा उद्धारका नाममा व्यक्ति, संस्था वा समूहले आफूखुसी चन्दा तथा राहत सङ्कलन नगर्न आग्रह गर्नुभएको हो ।

भोटेकोशी नदीमा आएको आकस्मिक बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखालगायतका जिल्लाका नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिक प्रभावित भएको प्रशासनले जनाएको छ ।

बाढीपछि सरकारले प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका कार्यलाई तीव्रता दिएको र मानवीय तथा भौतिक क्षतिको विवरण सङ्कलन भइरहेको सूचनामा उल्लेख छ ।

प्रशासनले बाढी प्रभावितलाई तत्काल सुरक्षित स्थानमा व्यवस्थापन गर्नुका साथै दीर्घकालीन रूपमा पुनःस्थापना गर्नुपर्ने आवश्यकता औँल्याएको छ ।

केही व्यक्ति, संस्था तथा समूहले आफूखुसी राहत तथा चन्दा सङ्कलन गरिरहेको सूचना प्राप्त भएको भन्दै प्रशासनले त्यस्ता गतिविधि नगर्न सचेत गराएको हो ।

आर्थिक सहयोग गर्न इच्छुक व्यक्ति तथा संस्थालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गत रहेको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष तथा प्रधानमन्त्री राहत कोषमा सहयोग रकम जम्मा गर्न प्रशासनले अपिल गरेको छ ।

प्रशासनले सूचनाविपरीत अनधिकृत रूपमा चन्दा वा राहत सङ्कलन गरेको पाइएमा प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने चेतावनीसमेत दिएको छ ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार