पोखरा । कास्की जिल्लाभित्र कुनै पनि प्रकारका कार्यक्रम सञ्चालन गर्नुअघि सम्बन्धित स्थानीय तहको पूर्व स्वीकृति लिन जिल्ला प्रशासन कार्यालय, कास्कीले आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले २०८२ असोज २८ गते सार्वजनिक गरेको सूचनामार्फत स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को परिच्छेद ३ अनुसार स्थानीयस्तरमा हुने कार्यक्रम सञ्चालनका लागि स्वीकृति/अनुमति सम्बन्धित स्थानीय तहबाट अनिवार्य रूपमा लिनुपर्ने व्यवस्था रहेको उल्लेख गरेको छ ।
प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माका अनुसार केही कार्यक्रमहरू बिना स्वीकृति र स्थानीय प्रशासनलाई जानकारी नदिई सञ्चालन भइरहेको पाइएकाले अबदेखि यस्तो नगर्न प्रशासनले कडाइका साथ आग्रह गरेको हो ।
शर्माका अनुसार, कास्की जिल्लाभित्र गरिने सभा, समारोह, प्रदर्शन, परम्परागत तथा व्यावसायिक मेला, जात्रा, कन्सर्ट, सांस्कृतिक कार्यक्रम लगायतका सबै गतिविधि आयोजना गर्नुअघि सम्बन्धित स्थानीय तहबाट अनुमति लिएर मात्रै शान्तिसुरक्षाका प्रयोजनका लागि जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ ।
निवेदनमा कार्यक्रम अवधिभरको सुरक्षा व्यवस्थापनका लागि आयोजकको नाम, सम्पर्क नम्बर, कार्यक्रमको मिति, स्थान, सुरु र समाप्त हुने समय, सहभागीको अनुमानित सङ्ख्या लगायतका विवरण स्पष्ट रूपमा उल्लेख गर्नुपर्ने प्रशासनले जनाएको छ ।
त्यस्तै, निवेदनमा सम्बन्धित स्थानीय तहको स्वीकृति/अनुमतिपत्र, संस्थाको दर्ता प्रमाणपत्रको प्रतिलिपि लगायतका कागजातहरू अनिवार्य रूपमा संलग्न गर्न प्रशासनले भनेको छ ।
