मानव आवाज

२०८३ असोज ६ गते
00: 00: 00
२०८३ असोज ६ गते

कास्की प्रशासनद्वारा बजार अनुगमन तीव्र

पोखरा । जिल्ला अनुगमन समिति कास्कीले पोखरा महानगरपालिका क्षेत्रमा बजार अनुगमनलाई तीव्रता दिएको छ । शनिबार र आइतबारको बिदाका दिनसमेत समितिले बजार अनुगमनलाई निरन्तरता दिएको हो ।

समितिले २०८३ असोज ४ गते पोखरा महानगरपालिका-७ रत्नचोकस्थित मिनबहादुर शेरचन स्टोर्स र पोखरा-८ नयाँबजारस्थित मोहित ट्रेडर्सको स्थलगत अनुगमन गरेको छ ।

कास्कीका सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको नेतृत्वमा भएको अनुगमनमा जिल्ला प्रशासन कार्यालय कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतम, खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय पोखरा, पोखरा महानगरपालिका, साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड प्रादेशिक कार्यालय पोखराका प्रमुख, उपभोक्ता मञ्चका अध्यक्ष तथा सञ्चारकर्मी सहभागी थिए ।

अनुगमनका क्रममा मोहित ट्रेडर्समा सरसफाइको अवस्था कमजोर रहेको, खाद्य तथा अखाद्य वस्तु र मदिराजन्य पदार्थ सँगै राखिएको, व्यवसाय सञ्चालनसम्बन्धी कागजात देखिने गरी नराखिएको, अनुमति नलिएको मेसिन प्रयोग गरी चामललगायत खाद्य सामग्री प्याकेजिङ गर्ने गरेको तथा बजारबाट फिर्ता आएका सामान पुनः प्याकेजिङ गर्ने गरेको पाइएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ ।

उक्त कसुरका आधारमा मोहित ट्रेडर्सलाई २ लाख रुपियाँ जरिवाना गरिएको सहायक प्रमुख जिल्ला अधिकारी बरालले जानकारी दिनुभयो । साथै, पसलको सरसफाइ सुधार गरेपछि मात्र सञ्चालन गर्न निर्देशन दिइएको पनि उहाँले बताउनुभयो ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ३८ को खण्ड (ङ) र (च) बमोजिम कसुर गरेको देखिएपछि सोही ऐनको दफा ३९ को उपदफा (१) को खण्ड (क) बमोजिम जरिबाना गरिएको हो ।

तोकिएको जरिवाना रकम बैङ्कमा जम्मा गरी भौचरको दोस्रो प्रति जिल्ला प्रशासन कार्यालय, कास्कीमा पेस गर्नुपर्नेछ । तोकिएको अवधिभित्र जरिवाना रकम नबुझाएमा कानुनबमोजिम थप कारबाही गरिने बरालले बताए ।

अनुगमनका क्रममा बरामद गरिएको प्याकेजिङ मेसिन पोखरा महानगरपालिकामा पठाउने तयारी गरिएको छ । उपभोक्ताबाट प्राप्त गुनासोका आधारमा समितिको टोली मोहित ट्रेडर्समा अनुगमनका लागि पुगेको हो ।

अनुगमन गरिएका अन्य पसलमा भने उल्लेख्य कैफियत नदेखिएको सहायक प्रमुख जिल्ला अधिकारी थम्मनसिंह गौतमले जानकारी दिनुभयो । उहाँले व्यवसायीलाई दैनिक सरसफाइ कायम गर्न र मूल्यसूची उपभोक्ताले स्पष्ट देख्ने गरी राख्न निर्देशन दिइएको बताउनुभयो ।

Author

समाचार साझा गर्नुहोस्

सम्बन्धित समाचार