आमाको नामबाट एकै पटक तीन सन्तानलाई नागरिकता प्रदान
पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरा अवस्थित कास्की जिल्लामा जिल्ला प्रशासन कार्यालयले सेवा प्रवाहमा उल्लेखनीय सुधार गरेको छ ।
सो क्रममा आमाको नामबाट एकै पटक तीन सन्तानलाई नेपाली नागरिकताको प्रमाणपत्र वितरण गरिएको छ ।
अन्नपूर्ण गाउँपालिका–८ निवासी निरूता नेपालीका दुई छोरा सुजन नेपाली, दिनेश नेपाली र छोरी सुस्मिता नेपालीलाई २०८२ पुस २० गते आमाको नामबाट नेपाली नागरिकताको प्रमाणपत्र प्रदान गरिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माले नागरिकता वितरण गरिएको जानकारी दिनु भयो ।
अन्नपूर्ण गाउँपालिकामा २०८२ मङ्सिर १२ गते सञ्चालन गरिएको ‘स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाहसम्बन्धी सचेतनामूलक अन्तरक्रिया कार्यक्रम’का क्रममा निरूता नेपालीका सन्तानहरूको जन्मदर्ता र नागरिकता प्राप्तिमा समस्या रहेको विषय उठान गरिएको थियो ।

सोही विषयलाई आधार मानी सम्बन्धित स्थानीय तहसँग आवश्यक समन्वय गरी समस्या समाधान गरिएको प्रमुख जिल्ला अधिकारी शर्माले बताउनु भयो ।
निरूता नेपालीको विक्रम राई नामक व्यक्तिसँग सम्बन्ध कायम भई सन्तान जन्मिएको भए पनि विक्रम राई श्रीमती र चार सन्तानलाई छाडेर बेपत्ता भएपछि बाबुको पहिचान खुल्ने कुनै कागजात वा प्रमाण पेश हुन सकेको थिएन । यस कारण सन्तानहरूको नागरिकता प्रक्रिया लामो समयदेखि अवरुद्ध हुँदै आएको थियो ।
बाबुको पहिचान पुष्टि हुने कागजात नपुगेपछि अन्नपूर्ण गाउँपालिका वडा नं. ८ बाट जारी गरिएको जन्मदर्ता प्रमाणपत्र, वडा कार्यालयको सिफारिस, वडा मुचुल्का, प्रहरी मुचुल्का लगायत आवश्यक कागजात तथा प्रमाणका आधारमा नागरिकता ऐन, नियमावली र नागरिकता वितरण कार्यविधि बमोजिम प्रक्रिया पूरा गरी आमाको नामबाट नागरिकता वितरण गरिएको प्रजिअ शर्माले स्पष्ट पार्नु भयो ।
यस कदमले लामो समयदेखि नागरिकताको अभावमा शिक्षा, स्वास्थ्य तथा अन्य सेवा सुविधाबाट वञ्चित हुँदै आएका सन्तानहरूलाई राज्यको मूलधारमा ल्याउन महत्वपूर्ण भूमिका खेलेको स्थानीयवासीहरूले बताएका छन् ।
स्थानीय समुदायले नागरिकमैत्री सेवा प्रवाहका लागि जिल्ला प्रशासन कार्यालय कास्कीको प्रशंसा समेत गरेका छन् ।