पोखरा । जिल्ला प्रहरी कार्यालय कास्कीमा कार्यरत प्रहरी निरीक्षक राजकुमार कार्की २०८२ असार महिनाको उत्कृष्ट प्रहरी घोषित हुनु भएको छ ।
गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरामा दरबन्दी भई कास्कीमा खटिएका कार्कीलाई प्रहरीले अपराध नियन्त्रण र घटनामा छिटो कारबाही गर्दै सङ्गठनको उद्देश्य पूर्तिमा महत्वपूर्ण योगदान पुर्याएको भन्दै सम्मान गरेको हो ।
प्रहरी उपरीक्षक श्यामबाबु ओलियाका अनुसार कार्कीले असार महिनाभरि उल्लेखनीय गतिविधि गर्नु भएको छ ।
उहाँले असार ३ गते लागूऔषधसहित चार जनालाई पक्राउ गर्नु भएको थियो भने असार ६ गते अवैध रूपमा बिक्री वितरण गर्न ल्याइएका करिब १ करोड ३० लाख रुपियाँ मूल्य बराबरका सुन र हिराका गरगहना सहित दुई जनालाई नियन्त्रणमा लिएका थिए ।
त्यस्तै, असार २७ गते छोरेपाटन विद्यालय व्यवस्थापन समितिका अध्यक्षमाथि कालो मसी छर्किने घटनामा संलग्न तीन जनालाई पक्राउ गर्नु भएको थियो ।
यस्तै, कास्की जिल्लाका विभिन्न स्थानमा जुवातास खेलिरहेका २२ जनालाई पक्राउ गरी नगद ४ लाख ८६ हजार ४ सय ७५ रुपियाँ बरामद गर्न सफल भएका थिए ।
जिल्ला प्रहरी कार्यालयले प्रत्येक महिना प्रहरी कर्मचारीहरूको कार्य मूल्याङ्कन गरी उत्कृष्ट प्रहरी घोषणा गर्दै आएको जनाएको छ ।