मानव आवाज

२०८३ असोज २६ गते
00: 00: 00
२०८३ असोज २६ गते

दोरम्बा शैलुङको कराते प्रतियोगितामा कालिका मावि पहिलो

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिकामा सम्पन्न दोस्रो गाउँपालिकास्तरीय कराते प्रतियोगितामा कालिका माध्यमिक विद्यालय, रिस्ठे पहिलो भएको छ । प्रतियोगितामा ८ स्वर्ण, ११ रजत र १३ कास्य पदक जित्दै कालिका माविले उपाधि हात पारेको हो ।

प्रतियोगितामा ८ स्वर्ण, ७ रजत र ७ कास्य पदक प्राप्त गर्दै कण्ठेश्वर माध्यमिक विद्यालय, टोकरपुर दोस्रो भएको छ । त्यसैगरी, ७ स्वर्ण, ३ रजत र ८ कास्य पदक जित्दै सेतीदेवी माध्यमिक विद्यालय, गुन्साल तेस्रो भएको छ ।

अन्य सहभागी विद्यालयमध्ये सञ्जीवनी माध्यमिक विद्यालय र काकलिङ माध्यमिक विद्यालयले समान १ रजत र २ कास्य पदक प्राप्त गरेका छन् ।

‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका साथ २०८३ असोज २२ गतेदेखि सुरु भएको प्रतियोगितामा गाउँपालिकाका ६ ओटा माध्यमिक विद्यालयका १ सय ५० भन्दा बढी खेलाडी सहभागी भएका थिए ।

स्थानीयस्तरमा खेलकुदको विकास, खेलाडीको क्षमता अभिवृद्धि तथा स्वस्थ समाज निर्माण गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ ।

आईडब्लुएफएन कराते शाखा डोजो र कालिका माध्यमिक विद्यालयको आयोजना तथा दोरम्बा वादो कराते डोजोको सहआयोजनामा प्रतियोगिता सञ्चालन गरिएको हो ।

कालिका मावि व्यवस्थापन समितिका अध्यक्ष अम्बिकाप्रसाद गजुरेलको अध्यक्षतामा २०८३ असोज २४ गते प्रतियोगिताको समापन कार्यक्रम सम्पन्न भएको थियो ।

समापन कार्यक्रममा दोरम्बा शैलुङ गाउँपालिका-६ का वडाध्यक्ष टीकाप्रसाद गौतम, गाउँपालिकाका शिक्षा शाखा प्रमुख नेत्र गौतम, आईडब्लुएफएनका मुख्य प्रशिक्षक बुद्धराज नागी, कालिका माविका प्रधानाध्यापक यनप्रसाद ढुङ्गेललगायत विभिन्न विद्यालयका प्रधानाध्यापक, अभिभावक, विद्यार्थी, समाजसेवी, सुरक्षाकर्मी तथा स्वास्थ्यकर्मीको उपस्थिति रहेको थियो ।

सहआयोजक दोरम्बा वादो कराते डोजोका प्रशिक्षक, आईडब्लुएफएन कराते डो सङ्घका केन्द्रीय सदस्य, राष्ट्रिय रेफ्री तथा पाँचौँ डान ज्ञानबहादुर थापामगरका अनुसार दोरम्बा शैलुङमा २०७४ सालदेखि निरन्तर रूपमा आईडब्लुएफएन कराते डोजो सञ्चालन हुँदै आएको छ ।

यस क्षेत्रका खेलाडीले प्रदेश तथा राष्ट्रियस्तरका प्रतियोगितामा समेत सहभागिता जनाउँदै उत्कृष्ट प्रदर्शन गरिसकेको उहाँले जानकारी दिनुभयो ।

स्थानीयस्तरमा आयोजना हुने यस्ता प्रतियोगिताले खेलाडीको प्रतिभा उजागर गर्नुका साथै कराते खेलको प्रवर्धन र युवा तथा विद्यार्थीमा खेलकुदप्रतिको आकर्षण बढाउन महत्त्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

Author

सम्बन्धित समाचार