मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

आज काग तिहार देशभर मनाइँदै

ललितपुर । आज देशभर तिहारको पहिलो दिन काग तिहार उल्लासपूर्वक मनाइँदै छ । प्रत्येक वर्ष कात्तिक कृष्ण त्रयोदशीका दिनबाट सुरु हुने पाँच दिने तिहार पर्व आजबाट आरम्भ भएको हो ।

बिहान सूर्योदयको समयमा त्रयोदशी तिथि परेकोले आज आइतबार शास्त्रसम्मत रूपमा काग तिहार पर्व मनाइँदै छ ।

तिहारलाई यमपञ्चक पनि भनिन्छ, जसको पहिलो दिन काग तिहार, दोस्रो दिन कुकुर तिहार, तेस्रो दिन लक्ष्मीपूजा र गाई तिहार, चौथो दिन गोबर्द्धन पुजा (गोरु तिहार) तथा पाँचौँ दिन भाइटिका गरी पाँच दिनसम्म उत्साहपूर्वक मनाइन्छ ।

वैदिक सनातन हिन्दु धर्म अनुसार कागलाई यमराजको सन्देशवाहकका रूपमा पूजा गर्ने परम्परा छ ।

नेपाली समाजमा अझै पनि ‘काग करायो भने पाहुना आउँछ’ भन्ने जनविश्वास रहिआएको छ ।

यस दिन बिहानै कागलाई आदरपूर्वक पूजा गरेर दही भात लगायतका परिकार अर्पण गर्ने चलन छ । ‘काकेन दधि भक्षितम्’ कागलाई दही भात खुवाएमा उसले यमराज समक्ष राम्रो सन्देश पुर्‍याउँछ भन्ने धार्मिक विश्वास रहँदै आएको छ ।

आजको दिन विशेष गरी काठमाडौँको कागेश्वरी मनोहरा महादेव मन्दिरमा विशेष पूजा आराधना हुने गरेको छ ।

त्यस्तै हनुमानढोकास्थित कागेश्वरी मन्दिरमा पनि भक्तजनको घुइँचो लाग्ने गर्दछ, जहाँ कागको प्रतीकात्मक पूजा तथा दर्शनका लागि भक्तहरू बिहानैदेखि पुगेका छन् ।

तिहारको पहिलो दिन काग तिहारले यमपञ्चकको सुरुवात गर्दै घरघरमा शुभता, सन्देश र मेलमिलापको भावना फैलाएको छ ।

Author

Related News