मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

नर्सहरूको माग सम्बोधन गर्न जुरी–नेपालको आग्रह

ललितपुर । स्वास्थ्य सेवाका अपरिहार्य अङ्गका रूपमा कार्यरत नर्सहरूले निरन्तर गर्दै आएको आन्दोलनप्रति न्याय तथा अधिकार संस्था–नेपाल (जुरी–नेपाल) ले गम्भीर ध्यानाकर्षण जनाउँदै तत्काल सम्बोधन गर्न सरकारसँग माग गरेको छ ।

जुरी–नेपालकी अध्यक्ष तनुजा बस्नेतद्वारा जारी विज्ञप्तिमा भनिएको छ कि नर्सिङ पेशालाई व्यवस्थित, मर्यादित र सम्मानित बनाउन सरकारले ठोस कदम चाल्न जरुरी छ ।

विज्ञप्तिमा आन्दोलनरत नर्सहरूले राखेका मागहरू-निजी अस्पताल र शिक्षण संस्थामा कार्यरत नर्सहरूको न्यूनतम पारिश्रमिक तथा सुविधा सरकार सरह सुनिश्चित गर्नुपर्ने, रात्रीकालीन र विदाका दिनको अतिरिक्त सेवा भत्ताको व्यवस्था गर्नुपर्ने, शैक्षिक योग्यता र अनुभवका आधारमा बढुवा र स्तरवृद्धि लागू गर्नुपर्ने, स्थायी नियुक्ति र नेतृत्वका अवसर सुनिश्चित गर्नुपर्ने जस्ता मागहरू पूर्ण रूपमा जायज रहेको उल्लेख छ ।

जुरी–नेपालले स्वास्थ्य सेवाको गुणस्तर र पहुँच सुधार नर्सहरूको अधिकारसँग प्रत्यक्ष रूपमा जोडिएको बताउँदै, नेपालको संविधानको धारा ३५ ले प्रत्याभूत गरेको ‘प्रत्येक नागरिकको गुणस्तरीय स्वास्थ्य सेवाको हक’ सुनिश्चित गर्न नर्सहरूको माग सम्बोधन अनिवार्य भएको धारणा व्यक्त गरेको छ ।

विज्ञप्तिमा भनिएको छ-“स्वास्थ्य सेवाजस्तो अत्यावश्यक सेवा कुनै पनि अवस्थामा उपेक्षित हुन सक्दैन। नर्सहरूको मनोबल घट्दा स्वास्थ्य सेवाको निरन्तरता र गुणस्तरमा प्रत्यक्ष असर पर्छ ।”

संस्थाले नेपाल सरकार, सरकारी तथा निजी स्वास्थ्य संस्थाहरू र सम्बन्धित सबै निकायलाई आन्दोलनरत नर्सहरूसँग तत्काल सम्वाद र छलफलमा बस्न र कानुनसम्मत मागहरूलाई यथाशीघ्र सम्बोधन गर्न जोडदार आग्रह गरेको छ ।

जुरी–नेपालले नर्सिङ सेवालाई सहज, पहुँचयोग्य र गुणस्तरीय बनाउनका लागि सरोकारवालासँगको परामर्शमा न्यूनतम राष्ट्रिय मापदण्ड तय गरी कार्यान्वयन गर्न सरकार सम्वेदनशील हुनुपर्नेमा पनि जोड दिएको छ ।

Author

Related News