मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

गोलञ्जोरमा जुनार प्रवर्धन मेलाको उद्घाटन

रुद्रबहादुर खड्का, सिन्धुली ।

गोलञ्जोर गाउँपालिकामा पहिलो पटक आयोजित जुनार प्रवर्धन मेलाको उद्घाटन बागमती प्रदेशका कृषि तथा पशुपन्छी विकास मन्त्री मधुसुदन पौडेलले गर्नु भएको छ ।

मेलाको आयोजना कृषि विकास कार्यालय सिन्धुली, उद्योग तथा वाणिज्य कार्यालय सिन्धुली, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम–जुनार सुपथ क्षेत्र, सङ्घसंस्था, स्थानीय सरकार र कृषक समूहहरूको सहकार्यमा गरिएको हो ।

‘गोलञ्जोरको शान, जुनार हाम्रो पहिचान । गोलञ्जोरको जुनार, समृद्धिको आधार’ भन्ने मूल नारासहित २०८२ मङ्सिर २३ गतेदेखि २५ गतेसम्म सञ्चालन हुने मेलाबाट सिन्धुलीको जुनारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारमा चिनाउने लक्ष्य राखिएको छ ।

मेलाले स्थानीय अर्थतन्त्र सुदृढ बनाउने, उद्यमशीलता प्रोत्साहन गर्ने र युवालाई कृषि व्यवसायमा आकर्षित गर्ने अपेक्षा गरिएको छ ।

आज गोलञ्जोर गाउँपालिका–४ स्थित तीनकन्याको कुभिण्डेमा आयोजित उद्घाटन समारोहमा मन्त्री पौडेलले जुनार उत्पादक किसानहरूको समस्या समाधानका लागि प्रदेश सरकारले आवश्यक नीति तथा कार्यक्रममार्फत सहयोग गर्ने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले सिन्धुलीलाई ‘जुनारको पहिचान’ दिलाउन किसानहरूले गरेको योगदानको प्रशंसा गर्दै, स्थानीय उत्पादित जुनारलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउन व्यवस्थापन, प्रशोधन र ब्रान्डिङ अत्यावश्यक रहेको बताउनु भयो ।

उहाँका अनुसार जुनार खेतीमार्फत युवा रोजगारी, गरिबी उन्मूलन र कृषि उद्यम विकासमा प्रशस्त सम्भावना रहेको छ ।

साथै मेलाले कृषि पर्यटन प्रशस्त सम्भावना बोकेको गोलञ्जोर क्षेत्रमा पर्यटन विस्तारमा मद्दत गर्ने विश्वास व्यक्त गर्नु भयो ।

मेलामा जुनार व्यापार र व्यवसायीकरण, रोग तथा कीरा व्यवस्थापन, जुनार बगैँचा अवलोकन, स्थानीय कृषि उपज प्रदर्शन, कृषि विज्ञ तथा किसानबीच अन्तर्क्रिया, झाँकी प्रदर्शन तथा स्थानीय तथा राष्ट्रिय कलाकारहरूको सांस्कृतिक प्रस्तुति रहनेछ ।

सिन्धुलीको महाभारत क्षेत्रमा पर्ने गोलञ्जोर गाउँपालिका–१ देखि ६ वडा सम्मलाई “जुनार पकेट क्षेत्र” घोषित गरिएको छ । स्थानीय किसानहरूले वार्षिक रूपमा लाखौँ रुपियाँ आम्दानी गर्दै आएका छन् ।

गोलञ्जोर गाउँपालिकाका उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेका अनुसार मेलाले बजार व्यवस्थापन, प्रशोधन र उत्पादन वृद्धि तथा व्यावसायीकरणमा सहजीकरण गर्नेछ ।

कृषि विकास कार्यालय सिन्धुलीको तथ्याङ्क अनुसार आ.व. २०८१/८२ मा जिल्लामा १,११३ हेक्टर क्षेत्रमा जुनार खेती भइरहेको छ, जस मध्ये ६५० हेक्टर क्षेत्रमा व्यावसायिक उत्पादन हुँदै आएको छ ।

प्रतिहेक्टर औसत १३.०३ मेट्रिक टनका दरले जिल्लामा वार्षिक ९,१०० मेट्रिक टन जुनार उत्पादन हुने गरेको छ ।

गोलञ्जोरका किसानहरूले मात्रै वार्षिक ३४ करोड १९ लाख ९० हजार रुपियाँ आम्दानीमा जुनारलाई प्रमुख स्रोत बनाएका छन् ।  कुल २,७५० किसान प्रत्यक्ष रूपमा जुनार खेतीमा संलग्न रहेका छन् ।

Author

Related News