मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

गोलञ्जोरमाआयोजित ‘जूनार प्रवर्धन मेला’ सम्पन्न

रुद्रबहादुर खड्का, सिन्धुली ।

गोलञ्जोर गाउँपालिकामा पहिलोपटक आयोजित ‘जूनार प्रवर्धन मेला’ २०८२ मङ्सिर २३ गतेदेखि २५ गतेसम्म सफलतापूर्वक सम्पन्न भएको छ ।

सरकारले गोलञ्जोर क्षेत्रलाई ‘जूनार सुपर जोन’ घोषणा गरिसके पनि व्यवस्थित कृषि सडकको अभावले किसानहरू अझै पनि ढुवानी र बजार व्यवस्थापनमा समस्या भोगिरहेका छन् ।

विशेषतः धापचौकी–बाहुनतिल्पुङ कृषि करिडोर कालोपत्रे नहुँदा फल ढुवानीमा कठिनाइ, कुहिने जोखिम तथा बजारसम्म पुर्‍याउन ढिलाइ हुँदा किसानहरू आर्थिक रूपमा मारमा पर्दै आएका छन् । यी विषयहरू उद्घाटन र समापन दुवै सत्रमा प्रमुख रूपमा उठाइयो ।

समापन समारोहमा गोलञ्जोर–४ कुभिण्डेमा जिल्ला समन्वय समितिकी उपप्रमुख शान्ता कार्कीले जूनारको उत्पादन तथा बजारीकरणलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै भौगोलिक हावापानीअनुसार उपयुक्त बालीमा सरकारको सहयोग अत्यावश्यक रहेको बताउनु भयो ।

उहाँले पछिल्लो समय किसानहरू सुन्तला उत्पादनतर्फ आकर्षित भइरहेको उल्लेख गर्दै सिन्धुलीको पहिचान बोकेको जूनार खेतीलाई जोगाउन सरकार संवेदनशील हुनुपर्ने बताउनु भयो । जूनार उत्पादनले स्थानीय आर्थिक समृद्धिमा ठूलो योगदान दिइरहेको पनि उहाँको तर्क थियो ।

गोलञ्जोर गाउँपालिकाका अध्यक्ष शङ्करराज बरालले कृषि सडक स्तरोन्नति एकल प्रयासबाट सम्भव नभएको भन्दै सबै पक्षको सहकार्य अपरिहार्य रहेको बताउनु भयो ।

उपाध्यक्ष ज्वालाप्रसाद न्यौपानेले प्रदेश तथा सङ्घीय सरकारको सक्रियता बिना कृषि सडक सुधार असम्भव रहेकाले मेलाको आयोजनाले यसतर्फ ध्यानाकर्षण गर्ने उद्देश्य बोकेको जानकारी दिनु भयो ।

मेला कृषि विकास कार्यालय सिन्धुली, उद्योग तथा वाणिज्य कार्यालय, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम र विभिन्न सङ्घसंस्थाको सहकार्यमा आयोजना गरिएको थियो ।

प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले किसानको मनोबल बढाउन सरकारी निकायहरूले गरेको सहयोगको प्रशंसा गर्दै कोल्डस्टोर, सिँचाइ सुविधा तथा रोग–किरा नियन्त्रणमा थप सहयोग आवश्यक रहेको बताउनु भयो ।

सिन्धुलीमा हाल करिब १ हजार १ सय हेक्टरमा जूनार खेती भइरहेको छ, जसमा ७ सय ५० हेक्टर क्षेत्रमा व्यावसायिक खेती छ ।

गोलञ्जोर गाउँपालिकामा मात्रै १ हजार हेक्टरभन्दा बढी क्षेत्रमा जूनार तथा सुन्तलाको उत्पादन भइरहेको छ ।

कतिपय किसानका बगैँचामा १ जार ७ सयसम्म बोट रहेका छन्, जहाँ एउटा बोटबाट वार्षिक २१ हजार रुपियाँसम्म आम्दानी हुने तथ्याङ्क प्रस्तुत गरिएको छ ।

आकर्षक आम्दानीका कारण स्थानीय किसानहरू परम्परागत बाली छाडेर व्यावसायिक फलफूल खेतीतर्फ आकर्षित भइरहेका छन् ।

महोत्सवमा किसानहरूले जुस, स्क्वास, जाम, जेली, क्यान्डी लगायत २१ प्रकारका जूनार–आधारित परिकार प्रदर्शन तथा बिक्री गरेका थिए ।

साथै कृषक, कृषि विज्ञ तथा सहकारी प्रतिनिधिबीच रोग–किरा नियन्त्रण, गुणस्तर सुधार, बजार विस्तार र प्रविधि हस्तान्तरणबारे छलफल तथा अन्तरक्रिया गरिएको थियो ।

दोस्रो दिन कृषकहरूले रोग–किरा, पोषण व्यवस्थापन तथा बजार समस्याबारे आफ्ना गुनासा राखे भने कृषि विज्ञहरूले बगैँचा अवलोकन गरी व्यावहारिक सल्लाह प्रदान गरे ।


महोत्सवको अन्तिम दिन ४ सयभन्दा बढी बोट लगाएर निरन्तर खेती गर्दै आएका कृषक, दीर्घकालीन बिरुवा उत्पादक, युवा उद्यमी तथा एकल महिला कृषकलाई प्रमाणपत्र र दोसल्लाले सम्मान गरिएको थियो ।

Author

Related News