काठमाडौँ । नेपाल पत्रकार महासङ्घले वरिष्ठ पत्रकार किशोर श्रेष्ठमाथि भइरहेको व्यवहारप्रति निन्दा व्यक्त गरेको छ ।
महासङ्घका महासचिव रामप्रसाद दाहालले २०८३ जेठ ११ गते एक प्रेस विज्ञप्ति जारी गर्दै पत्रकार श्रेष्ठमाथि भइरहेको व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार रहेको उल्ल्ख गर्नुभएको छ ।
‘गृह मन्त्रालयको जिम्मेवारी लिइरहेका प्रधानमन्त्रीको निर्देशनमा आफूलाई धरपकड गर्ने, धम्क्याउने तथा समाचारको स्रोत खोल्न दबाब दिनेजस्ता गतिविधि बढिरहेको प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्षसमेत रहेका श्रेष्ठले महासङ्घलाई जानकारी गराउनु भएको छ ।’- विज्ञप्तिमा भनिएको छ-‘समाचार लेखेकै आधारमा श्रेष्ठमाथि भइरहेका व्यवहार स्वतन्त्र प्रेस र लोकतन्त्रमाथिकै प्रहार भएको महासङ्घको बुझाइ छ । यस प्रकारको व्यवहारको महासङ्घ निन्दा गर्दछ ।’

यसैबिच समाजवादी प्रेस सङ्गठन नेपालले प्रेस विज्ञप्तिमार्फत अग्रज पत्रकार श्रेष्ठविरुद्ध भइरहेको दुष्प्रचार र धम्कीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
‘विभिन्न देश र व्यक्तिको नाम लिँदै फोन गरी नक्कली व्यक्ति खडा गरी उपहारको नाममा कार्यालयमै सामान र पैसा पठाएर आर्थिक प्रलोभनमा पार्न खोज्नु लामो समयदेखि खोजमुलक पत्रकारिता गर्दै आउनुभएका पत्रकार श्रेष्ठविरुद्धको योजनाबद्ध षडयन्त्र हो भन्नेमा कुनै द्विविधा छैन । घटनाक्रम हेर्दा छिमेकी मुलुकसँगको सम्बन्धमासमेत नकारात्मक असर पार्ने देखिन्छ ।’-विज्ञप्तिमा भनिएको छ ।

प्रेस सेन्टर नेपालले पनि सो घटनाको कडा निन्दा र भर्त्सना गरेको छ । ‘उहाँ सम्पादक रहेको जनआस्था साप्ताहिकले रचनात्मक प्रमुख प्रतिपक्षको भूमिका निर्वाह गर्दै आएको छ, जुन पत्रकारिताको महत्वपूर्ण दायित्व र जिम्मेवारीको विषय हो ।’-प्रेस सेन्टर नेपालले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
‘हालै वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध षड्यन्त्रको आभास हुने गरी केही घटना घटेका छन् । विदेशी नम्बरबाट फोन आउने, जनआस्था साप्ताहिकको कार्यालयमुनि मदिराको बोतल तथा नगद रकम छाडिने र कुनै समाचारका लागि आर्थिक प्रलोभन दिने प्रयास गरिनुले उहाँविरुद्ध योजनाबद्ध षड्यन्त्र भइरहेको आशङ्कालाई बल पुर्याएको छ । यस्ता गतिविधिले छिमेकी मुलुकसँगको सम्बन्धमा समेत नकारात्मक असर पार्ने सम्भावना देखिन्छ ।’- जारी विज्ञप्तिमा उल्लेख छ ।

प्रेस चौतारी नेपालले राज्यशक्तिको आडमा स१चारमाध्यम तथा वरिष्ठ पत्रकार किशोर श्रेष्ठविरुद्ध भइरहेका योजनाबद्ध दबाब, प्रतिशोध र षडयन्त्रको घोर निन्दा र भर्त्सना गरेको छ ।
