मानव आवाज

२०८३ भदौ १० गते
00: 00: 00
२०८३ भदौ १० गते

पत्रकार नविन श्रेष्ठलाई प्रहरीले अढाई घण्टा नियन्त्रणमा लिएर सोधपुछ गरेको आरोप

सिन्धुली । पत्रकार नविन श्रेष्ठलाई प्रहरीले अढाई घण्टा नियन्त्रणमा लिएर सोधपुछ गरेको नेपाल पत्रकार महासङ्घ सिन्धुलीले जनाएको छ ।

महासङ्घका अनुसार २०८३ भदौ ९ गते दिउँसो फोन गरेर ‘भेटघाट गर्ने काम छ’ भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा बोलाइएका श्रेष्ठलाई करिब अढाई घण्टा प्रहरी कार्यालयमा राखिएको हो ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट सिन्धुली क्षेत्र नं. १ मा निर्वाचित प्रतिनिधिसभा सदस्य धनेन्द्र कार्कीको उजुरीका आधारमा आफूलाई प्रहरी कार्यालयमा बोलाइएको श्रेष्ठले प्रहरी कार्यालय पुगेपछि मात्रै थाहा पाएको बताउनुभयो ।

कार्कीले सामाजिक सञ्जालमा आफूविरुद्ध लेखिएको विषयलाई लिएर मानहानीको उजुरी दिएको उहाँको भनाइ छ ।

श्रेष्ठका अनुसार २०८३ भदौ ८ गते दिउँसोदेखि नै प्रहरीले फोन गरेको थियो । ‘डिएसपी साबले भेटघाट गर्न बोलाउनुभएको छ’ भन्दै पटकपटक फोन आएपछि आफू प्रहरी कार्यालय गएको उहाँले बताउनुभयो ।

“भदौ ८ गते दिउँसोदेखि नै फोन आएको थियो । किन भनेर सोध्दा भेटघाट गर्न डिएसपी साबले बोलाउनुभएको छ भनियो । प्रहरी कार्यालयमा पुगेपछि मात्रै उजुरी परेको थाहा पाएँ ।”-श्रेष्ठले भन्नुभयो ।

प्रहरीले सोधपुछका क्रममा अढाई घण्टा राखेपछि श्रेष्ठलाई हाजिरी तारेखमा छाडेको जनाइएको छ ।

पक्राउ पुर्जी मागेपछि उहाँ कार्यरत पत्रिका ‘सिन्धुली अपडेट’का सम्पादक ध्रुवचन्द्र खड्काको जिम्मामा छाडिएको श्रेष्ठले बताउनुभयो । श्रेष्ठ उक्त साप्ताहिकका सहसम्पादक हुनुहुन्छ ।

२०८३ भदौ १० गते बिहान ७ बजे पुनः प्रहरी कार्यालयमा उपस्थित हुने गरी आफूलाई छाडिएको श्रेष्ठले जानकारी दिनुभयो ।

उहाँका अनुसार डिएसपी विजय श्रेष्ठले रात परेपछि घर जान र भोलिपल्ट बिहान ७ बजे प्रहरी कार्यालयमा उपस्थित हुन भनिएको हो । साथै, प्रहरी कार्यालयमा आएको कुरा कसैलाई नभन्नु भनेर समेत भनिएको श्रेष्ठको दाबी छ ।

सिन्धुली क्षेत्र नं. १ बाट निर्वाचित सांसद कार्कीले १६ सदस्यीय सचिवालय बनाएको विषयमा श्रेष्ठले सामाजिक सञ्जालमार्फत असहमति जनाउनुभएको थियो ।

सोही विषयमा सामाजिक सञ्जालमा लेखिएको शब्दले मानहानी गरेको भन्दै कार्कीले प्रहरीमा उजुरी दिएको बताइएको छ ।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विजय श्रेष्ठले सांसद कार्कीको उजुरीका आधारमा पत्रकार श्रेष्ठलाई सोधपुछका लागि बोलाइएको जानकारी दिनुभयो । उहाँका अनुसार उजुरी जिल्ला प्रहरी कार्यालयको उजुरी शाखामा दर्ता भएको छ ।

“सामाजिक सञ्जालमा लेखिएको स्टाटसमा प्रयोग भएका शब्दले मानहानी भएको भन्दै उजुरी परेको हो । सोही उजुरीका आधारमा उहाँलाई सोधपुछका लागि बोलाइएको हो ।”- डिएसपी श्रेष्ठले भन्नुभयो ।

सांसद कार्की प्रहरी कार्यालयमा उपस्थित नभएका कारण दुवै पक्षबिच छलफल हुन नसकेको उहाँले बताउनुभयो । “माननीय आएपछि छलफलका लागि बोलाउँछौँ ।”-डिएसपी श्रेष्ठले भन्नुभयो ।

पत्रकार महासङ्घसहित विभिन्न संस्थाको आपत्ति

पत्रकार श्रेष्ठलाई प्रहरी कार्यालयमा बोलाएर गरिएको सोधपुछ तथा व्यवहारप्रति नेपाल पत्रकार महासङ्घ सिन्धुली, मानवअधिकार रक्षक सञ्जाल, नागरिक समाज, युवा, व्यवसायी तथा विभिन्न सङ्घसंस्थाका प्रतिनिधिले आपत्ति जनाएका छन् ।

उनीहरूले घटनालाई अभिव्यक्ति स्वतन्त्रता तथा प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेपका रूपमा लिँदै सामान्य आलोचनासमेत सहन नसक्ने प्रवृत्ति देखिएको बताएका छन् ।

उनीहरूले पत्रकारलाई प्रहरी कार्यालयमा बोलाएर केरकार गर्ने कार्यले संविधानले सुनिश्चित गरेको प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको मर्ममाथि प्रश्न उठाएको बताएका छन् ।

वक्तव्य जारी गर्दै उनीहरूले लोकतान्त्रिक व्यवस्थामा सार्वजनिक पदमा रहेका व्यक्तिले आलोचना र असहमतिलाई समेत लोकतान्त्रिक रूपमा ग्रहण गर्नुपर्नेमा पत्रकारमाथि प्रहरीमार्फत दबाब सिर्जना गर्नु उचित नभएको बताएका छन् ।

उनीहरूले घटनालाई ‘बोल्ने मुख थुन्ने प्रयास’ भन्दै स्वतन्त्र पत्रकारिताको वातावरण सुनिश्चित गर्न राज्यका सम्बन्धित निकायसँग माग गरेका छन् ।

संविधानले सुनिश्चित गरेको मौलिक हक, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, मानव अधिकार र सामाजिक न्यायको संरक्षण राज्यको दायित्व भएको भन्दै स्वतन्त्र र मर्यादित पत्रकारितालाई थप बलियो बनाउनुपर्नेमा उनीहरूले जोड दिएका छन् ।

पत्रकारिता क्षेत्रमाथि हुने कुनै पनि प्रकारको दबाब, धम्की वा अमानवीय व्यवहारले लोकतान्त्रिक व्यवस्थालाई कमजोर बनाउने भन्दै घटनाको निष्पक्ष छानबिन गरी पत्रकारलाई निर्बाध रूपमा काम गर्ने वातावरण बनाउन सरोकारवालाले माग गरेका छन् ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार