पोखरा । पूर्वपर्यटनमन्त्री एवम् एमाले नेता रवीन्द्र अधिकारीको स्मृतिमा गाउँ नगर मिडिया सेन्टर नेपाल कास्कीले पत्रकारिता पुरस्कार स्थापना गरेको छ ।
गण्डकी प्रदेशको राजधानी तथा पर्यटकीय सहर पोखरामा सक्रिय उक्त संस्थाले अधिकारीको सातौं स्मृति दिवसको अवसर पारेर पुरस्कार घोषणा गरेको हो ।
‘रवीन्द्र स्मृति पत्रकारिता पुरस्कार’ नाम दिइएको उक्त सम्मान प्रत्येक वर्ष एक सक्रिय पत्रकारलाई प्रदान गरिने संस्थाले जनाएको छ । पुरस्कारको राशि ११ हजार १ सउ ११ रुपियाँ तथा सम्मानपत्र रहेको छ ।
संस्थाका अध्यक्ष हरि बास्तोलाका अनुसार पुरस्कारका लागि प्रारम्भिक रूपमा १ लाख रुपियाँको अक्षयकोष स्थापना गरिएको छ । आगामी दिनमा अक्षयकोष तथा पुरस्कार राशि क्रमशः वृद्धि गर्दै लैजाने योजना रहेको उहाँले जानकारी दिनु भयो ।
कास्कीमा कार्यरत सक्रिय पत्रकारहरूको सामाजिक संस्थाका रूपमा स्थापना भएको गाउँ नगर मिडिया सेन्टर नेपाल कास्कीलाई स्थापना चरणमा तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अधिकारीले आर्थिक सहयोग गर्नु भएको थियो ।
२०७५ फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परेर निधन हुनुभएका अधिकारीको स्मृति दिवसका अवसरमा पुरस्कार घोषणा गरिएको हो ।
संस्थाका सचिव कृष्ण थापाका अनुसार ग्रामीण पर्यटन तथा विकासमूलक समाचारलाई प्राथमिकताका साथ प्रकाशन/प्रसारण गर्ने, पत्रकारहरूको क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठी तथा सेमिनार आयोजना गर्ने, साथै पत्रकारको हकहित र प्रेस स्वतन्त्रताको पक्षमा आवाज उठाउने संस्थाको मुख्य उद्देश्य रहेको छ ।
संस्थालाई थप सक्रिय बनाउने उद्देश्यले पोखरामा छिट्टै बृहत् भेला आयोजना गरी अधिवेशन गर्ने निर्णय समेत गरिएको थापाले बताउनु भयो ।
साथै, आगामी दिनमा विभिन्न जिल्लामा शाखा विस्तार गर्दै संस्थालाई सशक्त रूपमा अघि बढाउने योजना रहेको जनाइएको छ ।