मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

विपी राजमार्ग पुनःनिर्माणका लागि जापानको साढे दुई अर्ब अनुदान

रुद्र बहादुर खड्का, सिन्धुली ।

गत वर्षको असोज र यस वर्षको असोजमा आएको भीषण बाढीका कारण क्षतिग्रस्त बनेको विपी राजमार्गको पुनःनिर्माण तथा मर्मत सम्भारका लागि जापान सरकारले नेपाल सरकारलाई करिब २ अर्ब ६० करोड रुपियाँ (२ अर्ब ८० करोड जापानी येन) बराबरको अनुदान सहयोग प्रदान गर्ने भएको छ ।

नेपाल सरकार र जापान सरकारबीच उक्त अनुदान सम्बन्धी सम्झौता २०८२ साल कार्तिक १३ गते अर्थ मन्त्रालयमा सम्पन्न भएको हो ।

सम्झौतापश्चात् जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (JICA) ले नै पुनःनिर्माण कार्यको जिम्मेवारी लिने भएको छ ।

सम्झौतामा नेपाल सरकारका तर्फबाट अर्थमन्त्री रामेश्वर खनाल र गृहमन्त्री ओमप्रकाश अर्यालको उपस्थितिमा अर्थ सचिव घनश्याम उपाध्याय र जापानका राजदूत तोरु माएदाले Exchange of Notes मा हस्ताक्षर गर्नु भएको थियो ।

(फोटोः २०२४ अक्टोबर २२, रमेशप्रसाद तिमल्सिना, विपी राजमार्ग, काभ्रे)

नेपालको तर्फबाट वैदेशिक सहायता समन्वय महाशाखाका सहसचिव धनीराम शर्मा र जाइकाका नेपालस्थित प्रमुख प्रतिनिधि मित्सुजाकी मिजुकीले कार्यान्वयन सम्झौतामा हस्ताक्षर गर्नु भएको छ ।

महोत्तरीको बर्दिबासदेखि काभ्रेको धुलिखेलसम्म फैलिएको १ सय ५९ किलोमिटर लम्बाइको यो विपी राजमार्ग जापान सरकारकै अनुदान सहयोगमा निर्माण गरिएको हो ।

यो राजमार्गले नेपालको पूर्वी पहाड र तराईलाई काठमाडौंसँग छोटो दुरीमा जोड्ने महत्वपूर्ण सडक मार्गको रूपमा परिचित छ ।

२०८१ असोजको बाढीले २२ किलोमिटर सडक पूर्ण रूपमा क्षति पुर्‍याएको थियो । अस्थायी ट्र्याक सञ्चालनमा ल्याइए पनि यो वर्ष पुनः बाढीले सडकका विभिन्न भाग, विशेषगरी रोशी नदी आसपासका क्षेत्रहरू, गम्भीर रूपमा क्षति पुर्‍याएका छन् ।

ती क्षतिग्रस्त खण्डहरूको पुनःनिर्माण तथा मर्मतका लागि नै यो अनुदान सहयोग उपलब्ध गराइने भएको हो ।

Author

Related News