मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

जनप्रिय माविले मनायो ५७ औँ वार्षिकोत्सव तथा अभिभावक दिवस

पोखरा । पोखरा महानगरपालिका–८, सिमलचौरमा अवस्थित जनप्रिय माध्यमिक विद्यालयले आफ्नो ५७औँ वार्षिकोत्सव, अभिभावक दिवस तथा पुरस्कार वितरण कार्यक्रम विविध कार्यक्रमसहित औपचारिक रूपमा मनाएको छ ।

विद्यालय प्राङ्गणमा आयोजित समारोहको उद्घाटन प्रमुख अतिथि पोखरा महानगरपालिका–८ का वडाध्यक्ष रुद्रनाथ बरालले गर्नु भयो ।

उद्घाटन मन्तव्यका क्रममा उहाँले शिक्षा नागरिकको आधारभूत मौलिक अधिकार भएको उल्लेख गर्दै प्रारम्भिक सिकाइदेखि माध्यमिक तहसम्म सबै बालबालिकालाई गुणस्तरीय शिक्षाको पहुँच सुनिश्चित गर्न स्थानीय तह प्रतिबद्ध रहेको बताउनु भयो ।

वडाध्यक्ष बरालले जनप्रिय माध्यमिक विद्यालयले जिल्लाको शैक्षिक उन्नयन र विकासमा अग्रणी भूमिका खेलेको उल्लेख गर्दै विद्यालयको आफ्नै गौरवपूर्ण इतिहास रहेको बताउनु भयो ।

सामुदायिक विद्यालयमा विद्यार्थी सङ्ख्या घट्दै जानु चिन्ताको विषय भएको भन्दै उहाँले सरोकारवाला सबै मिलेर विद्यार्थी सङ्ख्या वृद्धि र शैक्षिक गुणस्तर अभिवृद्धिमा जोड दिन आग्रह गर्नु भयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम बरालले विद्यालयको भौतिक पूर्वाधार, शैक्षिक गुणस्तर तथा आर्थिक अवस्था व्यवस्थित र नमुना बनाउन अभिभावक तथा सरोकारवालाको भूमिका महत्वपूर्ण हुने बताउनु भयो ।

सामुदायिक विद्यालयलाई उत्कृष्ट बनाउन सबै पक्षबीच साझा धारणा आवश्यक रहेको उहाँको भनाइ थियो ।

कार्यक्रममा पोखरा–७ का वडाध्यक्ष राममोहन आचार्य, जनप्रिय क्याम्पसका अध्यक्ष राजेन्द्र पहारी, समाजसेवी विरेन्द्रनारायण विजुक्छे, सोभियतबहादुर अधिकारी, शिक्षक अभिभावक संघका अध्यक्ष हुमनाथ सिग्देललगायतले सामुदायिक विद्यालयमा व्यवस्थापकीय सुधार गर्दै वार्षिक शैक्षिक योजना निर्माण गरी बृहत् छलफल आवश्यक रहेको धारणा व्यक्त गर्दै शुभकामना मन्तव्य दिनुभएको थियो ।

समारोहमा विद्यालयका प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटीले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभयो । उहाँका अनुसार वि.सं. २०१५ सालमा भानु प्राथमिक पाठशालाका रूपमा स्थापना भएको विद्यालय २०२५ सालमा जनप्रिय निम्न माध्यमिक विद्यालय र २०४१ सालमा माध्यमिक विद्यालयका रूपमा स्वीकृत भएको हो ।

२०६१ सालदेखि कक्षा ११ र १२ (व्यवस्थापन, शिक्षा, मानविकी) तथा २०७३ सालदेखि विज्ञान र सिभिल इन्जिनियरिङ (९–१२) सञ्चालन हुँदै आएको छ ।

हाल विद्यालयमा छात्र ७४४ र छात्रा ७१८ गरी कुल १ हजार ४६२ विद्यार्थी अध्ययनरत छन् । विद्यालयमा ६४ जना शिक्षक कार्यरत रहेका छन्, जसमा ३८ पुरुष र २६ महिला छन् । त्यस्तै सात जना कर्मचारीमध्ये चार पुरुष र तीन महिला कार्यरत छन् ।

वार्षिकोत्सवको अवसरमा उत्कृष्ट शिक्षक सम्मान सहायक प्रधानाध्यापक ऋषिराम लामिछाने, इन्द्रबहादुर थापा, पुष्पादेवी शर्मा, करूणा पौडेल, भरत वाग्ले र सङ्गम आचार्यलाई प्रदान गरिएको थियो । उत्कृष्ट कर्मचारी सम्मान यशोदा आचार्यले प्राप्त गर्नु भयो ।

समारोहमा विभिन्न विधामा छात्रवृत्ति तथा पुरस्कार वितरण गर्नुका साथै विद्यार्थीहरूले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए । सोही अवसरमा ‘जनप्रिय शैक्षिक दर्पण–२०८२’ सार्वजनिक गरिएको थियो ।

यसैबिच, जुनियर रेडक्रस सर्कलको आयोजनामा तथा प्रदेश रक्तसञ्चार केन्द्र पोखराको प्राविधिक सहयोगमा माघ ९ गते आयोजित खुला रक्तदान कार्यक्रममा १८ युनिट रगत सङ्कलन भएको विद्यालय व्यवस्थापन समितिका सदस्य ईश्वरप्रसाद सुबेदीले जानकारी दिनु भयो ।

कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम बरालले गर्नुभएको थियो भने स्वागत मन्तव्य प्रधानाध्यापक देवीप्रसाद बस्ताकोटीले र सञ्चालन सहायक प्रधानाध्यापक ऋषिराम लामिछानेले गर्नुभएको थियो ।

Author

Related News