पोखरा । दलित महिला सशक्तिकरण नेपाल, पोखराको प्रथम अधिवेशन २०८२ माघ १२ गते पोखरा महानगरपालिका वडा नं. ८ को सभाकक्षमा सम्पन्न भएको छ ।
अधिवेशनले आगामी तीन वर्षे कार्यकालका लागि इश्वरी बिकको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।
कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. ८ का अध्यक्ष रुद्रनाथ बरालले नेपालमा जातीय तथा लैङ्गिक विभेद उन्मूलनका लागि दलित समुदायको आवाज बुलन्द गर्न यस्ता संस्थाले महत्त्वपूर्ण भूमिका खेल्न सक्ने बताउनु भयो ।
उहाँले दलित समुदायमाथि भइरहेको विभेद, भूमिहिनता र चरम गरिबीजस्ता समस्याविरुद्ध सशक्त पैरवी आवश्यक रहेको उल्लेख गर्दै स्थानीय तह विभेदमा आधारित आवाजविहीन समुदायको साथमा सधैं उभिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रममा पोखरा वडा नं. ८ की सदस्य लक्ष्मी विक, वडा नं. ९ की सदस्य गीता नेपाली तथा नियोक गण्डकीकी सह–संयोजक सुमित्रा गायकले शुभकामना मन्तव्य राख्दै दलित महिलाको सशक्तिकरण सामाजिक न्यायका लागि अपरिहार्य रहेको धारणा व्यक्त गर्नु भयो ।

अधिवेशनमा अध्यक्ष बिकले संस्थाको वार्षिक प्रगति प्रतिवेदन तथा आगामी कार्यक्रमहरू प्रस्तुत गर्नुभएको थियो । प्रस्तुत प्रतिवेदनमाथि छलफलपछि अधिवेशनले सर्वसम्मत रूपमा पारित गरेको छ ।
नयाँ कार्यसमितिको उपाध्यक्षमा रितु मजाकोटी, सचिवमा सपना बिक र कोषाध्यक्षमा सोनिया गुरुङ बिक चयन हुनुभएको छ ।
त्यसैगरी सदस्यहरूमा अञ्जली बिक, हिरा परियार, लालु परियार, सपना गहतराज, लक्ष्मी गायक, सिर्जना गोतामे र सिर्जना बिक निर्विरोध चयन हुनुभएको छ ।
कार्यक्रम संस्थाकी संस्थापक अध्यक्ष इश्वरी बिकको अध्यक्षतामा सम्पन्न भएको थियो । स्वागत मन्तव्य सिर्जना बिकले राख्नुभएको थियो भने कार्यक्रम सञ्चालन सचिव सपना बिकले गर्नुभएको थियो।