मानव आवाज

२०८२ चैत्र ३ गते
00: 00: 00
२०८२ चैत्र ३ गते

पोखरामा चार वर्षपछि अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुँदै

सात देशका १०० बढी खेलाडी सहभागी हुने

पोखरा। पर्यटकीय राजधानी पोखरामा चार वर्षपछि पुनः अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता हुने भएको छ ।

सन् २०२२ पछि विविध कारणले रोकिएको पोखरा अन्तर्राष्ट्रिय प्याराग्लाइडिङ प्रतियोगिता यस वर्ष पुनः आयोजना हुन लागेको हो । प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।

नेपाल हवाई खेलकुद संस्था (ना) को आयोजनामा २०८२ चैत ५ गतेदेखि ७ गतेसम्म “२१औँ नेपाल ओपन प्याराग्लाइडिङ च्याम्पियनसिप (एक्युरेसी प्रतियोगिता)-२०२६” पोखरामा सञ्चालन हुने जानकारी २०८२ चैत २ गते आयोजित पत्रकार सम्मेलनमार्फत दिइएको हो ।

प्रतियोगितामा पोखरा महानगरपालिका-१८ स्थित सराङकोटबाट उडान (टेकअफ) गरी खपौंदीमा अवतरण (ल्याण्डिङ) गरिनेछ ।

पत्रकार सम्मेलनमा बोल्दै नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख मणिराज लामिछानेले यस्ता प्रतियोगिताले पर्यटन प्रवर्धनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गर्नु भयो ।


“पर्यटन चलायमान बनाउन यस्ता कार्यक्रम आवश्यक छन् । पोखरालाई इभेन्टहरूको सहर बनाउनुपर्छ ।”-उहाँले भन्नु भयो ।

खेल संयोजक सुनिलबहादुर भट्टराईका अनुसार प्रतियोगितामा पुरुष र महिला एकल एक्युरेसी तथा समूहगत प्रतिस्पर्धा हुनेछन् ।

प्रतियोगितामा नेपालसहित भारत, चीन, मलेसिया, थाइल्याण्डलगायत सातभन्दा बढी देशका करिब १ सय जना खेलाडी सहभागी हुने अपेक्षा गरिएको छ ।

युरोपका विभिन्न देशका १५ भन्दा बढी खेलाडीले नाम दर्ता गराए पनि मध्यपूर्वी एसियामा देखिएको तनावका कारण उनीहरूले सहभागिता रद्द गरेको आयोजकले जनाएको छ ।

नेपाल हवाई खेलकुद संस्थाका अध्यक्ष अनिल केसीले प्रतियोगिताले साहसिक खेलको विकाससँगै पोखरालाई खेल पर्यटनको केन्द्रका रूपमा स्थापित गर्न मद्दत गर्ने विश्वास व्यक्त गर्नु भयो ।

पुरस्कार विवरण

प्रतियोगितामा:

  • पुरुषतर्फ: प्रथम- रु. १,५०,०००, द्वितीय- रु. १,००,०००, तृतीय- रु. ५०,०००
  • महिलातर्फ: प्रथम- रु. ७५,०००, द्वितीय- रु. ५०,०००, तृतीय- रु. २५,०००
  • समूहगत: प्रथम- रु. ७५,०००, द्वितीय- रु. ५०,०००, तृतीय- रु. २५,००० सहित मेडल र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

सुरक्षा निर्देशक योगेश भट्टराईका अनुसार प्रतियोगितालाई सुरक्षित बनाउन आवश्यक सबै सुरक्षा प्रबन्ध मिलाइएको छ ।

उहाँले भन्नु भयो-“यो प्रतियोगिता निश्चित क्षेत्रमा सीमित हुने भएकाले जोखिम कम छ । सराङकोटबाट उडान भरेर सिधै खपौंदीमा अवतरण गरिनेछ, जसले जोखिम न्यून बनाउँछ ।”

सम्भावित दुर्घटनालाई मध्यनजर गर्दै नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको सहकार्यमा उद्धार टोली परिचालन गरिनेछ ।

साथै, उडान र अवतरण स्थलमा चिकित्सकसहितको मेडिकल टिम, एम्बुलेन्स र फेवाताल क्षेत्रमा मोटरबोट तयारी अवस्थामा राखिनेछ ।

संस्थाका महासचिव बलराम आचार्यका अनुसार प्रतियोगितालाई नेपाल नागरिक उड्डयन प्राधिकरण, नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय, पोखरा महानगरपालिका र प्रदेश खेलकुद परिषद्लगायतको सहयोग रहेको छ ।

Author

Related News