मानव आवाज

२०८३ असार ५ गते
00: 00: 00
२०८३ असार ५ गते

पोखरामा अन्तरपुस्ता संवाद कार्यक्रम सम्पन्न

पोखरा एकल महिला, द्वन्द्वप्रभावित तथा सिमान्तकृत महिलाहरू र उनीहरूका बालबालिकाबिच आपसी समझदारी, विश्वास र सहकार्य अभिवृद्धि गर्ने उद्देश्यले आयोजित अन्तरपुस्ता संवाद कार्यक्रम पोखरामा सम्पन्न भएको छ ।

मानव अधिकारका लागि महिला एकल महिला समूह, कास्कीको आयोजनामा तथा कुर्वे–बुस्ट्रोको आर्थिक सहयोगमा “एकल महिला, द्वन्द्वप्रभावित सिमान्तकृत महिला र उनीहरूका बालबालिकासँग” भन्ने नारासहित शुक्रबार पोखरामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा बोल्दै एकल महिला समूह, कास्कीकी अध्यक्ष विष्णु श्रेष्ठले एकल महिला, द्वन्द्वप्रभावित तथा सिमान्तकृत महिलाहरू र उनीहरूका बालबालिकाबीच अनुभव, भावना, चुनौती र अवसरबारे खुला संवादको वातावरण सिर्जना गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको बताउनुभयो ।

इन्सेक गण्डकी प्रदेश संयोजक गणेश भण्डारीले एकल महिलाको न्याय र अधिकारका लागि संस्था सधैँ प्रतिबद्ध रहेको उल्लेख गर्दै विगतमा एकल महिलाले ‘बोक्सी’ जस्ता अपमानजनक आरोप र चरम विभेद भोग्नुपरेको स्मरण गर्नुभयो ।

उहाँले नयाँ पुस्ताले एकल महिलाका अधिकार तथा पुनर्विवाहका विषयलाई सहज रूपमा स्वीकार्न थालेको उल्लेख गर्दै युवा उमेरमै पति गुमाएका महिलाहरूको पैतृक सम्पत्ति र अंशबण्डाको अधिकार सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो ।

मानव अधिकार रक्षक सञ्जाल गण्डकीका संयोजक रामहरि ढुङ्गानाले समानता, सम्मान र परिवर्तनमा आधारित समाज निर्माणका लागि युवा पुस्ताको सक्रिय भूमिका आवश्यक रहेको बताउँदै समाजमा विद्यमान रूढिवादी सोच परिमार्जन गर्नुपर्ने धारणा राख्नुभयो ।

एकल महिला समूह, कास्कीकी निवर्तमान अध्यक्ष जुना केसीले विभेद, असमानता र सामाजिक चुनौतीहरूको सामना गर्न आपसी समझदारी, सहकार्य तथा सशक्तीकरण आवश्यक रहेको बताउनुभयो ।

गैसस महासङ्घ नेपाल, कास्कीकी अध्यक्ष इन्दिरा पौडेलले एकल महिला तथा उनीहरूका बालबालिकाको अधिकार संरक्षण, सामाजिक सम्मान र अवसरमा पहुँच सुनिश्चित गर्न सम्बन्धित निकायहरूको भूमिका प्रभावकारी हुनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

महिला मानवअधिकार रक्षक सञ्जाल, कास्कीकी अध्यक्ष केशु भुजेलले शिक्षा, स्वास्थ्य, रोजगारी, सामाजिक सुरक्षा, मानसिक स्वास्थ्य तथा पारिवारिक सम्बन्धका विषयमा आफ्नो धारणा राख्नुभएको थियो ।

कार्यक्रममा सहभागी एकल महिला, द्वन्द्वप्रभावित तथा सिमान्तकृत महिलाहरूले आफ्ना भोगाइ, संघर्ष, पीडा र अनुभवहरू साझा गर्दै महिला तथा बालबालिकाको शिक्षा, सुरक्षा, आत्मनिर्भरता र नेतृत्व विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औँल्याए ।

उनीहरूले सहकार्य, समझदारी र सम्मानमार्फत समावेशी तथा न्यायपूर्ण समाज निर्माण गर्नुपर्नेमा जोड दिएका थिए ।

आराधना गुरुङ, प्रविण सुवेदी र मैमा गुरुङले एकल महिलाका सन्तान भएकै कारण आफू र आफ्नी आमाले समुदायस्तरमा भोग्नुपरेका विभेदका अनुभव सुनाउँदै तीनै तहका सरकारले आवश्यक नीति तथा कार्यक्रम निर्माण गरी प्रभावकारी कार्यान्वयन गर्नुपर्ने बताउनुभयो ।

उहाँहरूले अन्तरपुस्ता संवादले पुरानो पुस्ताको अनुभव र नयाँ पुस्ताको सोचलाई जोड्ने महत्वपूर्ण माध्यमका रूपमा काम गर्ने उल्लेख गर्दै विभेद, हिंसा र असमानताविरुद्ध सबैले साझा रूपमा आवाज उठाउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

विष्णु श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन प्रदेश कार्यक्रम अधिकृत सवनम शर्माले गर्नुभएको थियो ।

कार्यक्रममा नागरिक समाज, महिला अधिकारकर्मी, सरोकारवाला निकायका प्रतिनिधि, एकल महिला, द्वन्द्वप्रभावित तथा सिमान्तकृत महिलाहरू तथा उनीहरूका बालबालिकाको सहभागिता रहेको थियो ।

कार्यक्रमले पुस्ताबिचको सम्बन्ध सुदृढ गर्दै समावेशी र न्यायपूर्ण समाज निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास व्यक्त गरिएको थियो ।

Author

Share the News

Recent News

Related News