पोखरा । स्थानीय तहमा शान्ति सुरक्षा सुदृढ बनाउने, अपराध नियन्त्रणमा नागरिक र प्रहरीबिचको सहकार्य बढाउने तथा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यले आयोजित अन्तरक्रिया कार्यक्रम रुपा गाउँपालिकामा सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय, कास्कीको आयोजना तथा रुपा गाउँपालिकाको समन्वयमा २०८३ असोज २० गते स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहसम्बन्धी अन्तरक्रिया गरिएको हो ।
सोही क्रममा इलाका प्रहरी कार्यालय डाँडाकोनाकको स्थलगत अनुगमन तथा निरीक्षणसमेत गरिएको थियो ।
कार्यक्रममा रुपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण र सेवा प्रवाहसम्बन्धी अन्तरक्रियाले पालिकाको समग्र सुरक्षा तथा सेवा प्रवाहमा थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
उहाँले स्थानीय तहबाट प्रदान गरिने सेवाहरूलाई जनमुखी, पारदर्शी र झन्झटरहित बनाउन सेवाग्राहीप्रति उत्तरदायी भएर काम गरिरहेको बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी कुमानसिंह गुरुङले स्थानीयस्तरमा शान्ति सुरक्षा कायम गर्न प्रहरी र स्थानीय प्रशासनबीचको समन्वयलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो ।
उहाँले मदिरा सेवन, जुवातास तथा घरेलु हिंसाजस्ता सामाजिक विकृति र अपराध न्यूनीकरणका लागि समाजका सबै पक्षले सचेतना फैलाउनुपर्ने बताउनुभयो ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले अपराध नियन्त्रण र सुशासन कायम गर्न प्रहरी तथा प्रशासनको मात्र प्रयास पर्याप्त नहुने बताउनुभयो ।
उहाँले समुदाय–प्रहरी साझेदारीलाई प्रभावकारी बनाउँदै नागरिकको सहभागितामा अपराध नियन्त्रणका गतिविधि सञ्चालन गर्नुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा सहभागी स्थानीय नागरिकले नागरिकको सुरक्षा र सुशासन स्थानीय विकासको महत्वपूर्ण आधार भएकाले यसका लागि सबै पक्षको साझा प्रतिबद्धता आवश्यक रहेको बताउनुभएको थियो ।
अन्तरक्रियामा जिल्ला सुरक्षा समितिका पदाधिकारी, स्थानीय जनप्रतिनिधि, कर्मचारी, राजनीतिक दलका पदाधिकारी तथा प्रतिनिधि र स्थानीय नागरिकको सहभागिता रहेको थियो ।
यसै क्रममा प्रमुख जिल्ला अधिकारीसहित जिल्ला सुरक्षा समितिका पदाधिकारीले इलाका प्रहरी कार्यालय डाँडाकोनाक, कास्कीको अनुगमन तथा निरीक्षण गरी आवश्यक निर्देशनसमेत दिएका थिए ।