पोखरा । “खाद्य पदार्थमा स्वच्छता: विज्ञानको प्रतिबद्धता” भन्ने नाराका साथ खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराद्वारा खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ का प्रावधान र त्यसको प्रभावकारी कार्यान्वयनमा उद्योगी–व्यवसायीहरूको भूमिकाबारे जानकारी गराउने उद्देश्यले सरोकारवालासँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
आर्थिक वर्ष २०८२/०८३ को स्वीकृत वार्षिक कार्यक्रम अन्तर्गत आयोजना गरिएको उक्त अन्तरक्रिया पोखरामा सम्पन्न भएको हो ।
कार्यक्रममा गण्डकी प्रदेशभित्र सञ्चालनमा रहेका विभिन्न खाद्य वस्तु उत्पादन गर्ने उद्योगी–व्यवसायीहरूलाई लक्षित गरिएको थियो ।
विशेष गरी खाद्य श्रृङ्खलाको पहिलो चरणमा पर्ने खाद्य वस्तु उत्पादक उद्योगीहरूको सहभागिता रहेको थियो ।
अन्तरक्रियामा उद्योगीहरूले उत्पादन गर्ने खाद्य वस्तुको गुणस्तर कायम गर्न आवश्यक भौतिक पूर्वाधार, मेसिनरी, सरसफाइ, प्राविधिक मापदण्ड तथा कानुनी पक्षबारे सचेत गराइएको थियो ।
साथै, डिजिटल युगलाई ध्यानमा राख्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले हालै सञ्चालनमा ल्याएको अनुमति पत्रसम्बन्धी अनलाइन पोर्टल NEFFILS को प्रयोग विधिबारे डेमो कक्षा समेत प्रस्तुत गरिएको थियो ।

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराका कार्यालय प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठले खाद्य स्वच्छताको महत्व र खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ मा तोकिएका कानुनी व्यवस्थाबारे सहजीकरण गर्नुभएको थियो ।
त्यसैगरी खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागलुङका कार्यालय प्रमुख सुमन लामिछाने र तनहुँका कार्यालय प्रमुख ज्योति आचार्यले अनुमति पत्रसम्बन्धी कार्यका लागि प्रयोग हुने अनलाइन प्लेटफर्म NEFFILS (https://neffils.dftqc.gov.np/) को प्रयोग विधि, खाद्य स्वच्छता तथा गुणस्तर कायम गर्न अपनाउनुपर्ने प्रविधि र कार्यपद्धतिबारे विस्तृत प्राविधिक प्रस्तुति दिनुभएको थियो ।
सामूहिक छलफलका क्रममा उत्पादकहरूबीचको प्रतिस्पर्धा मूल्यमा नभई गुणस्तरमा हुन सके मात्र स्वच्छ र गुणस्तरीय खाद्य वस्तुको सुनिश्चितता हुनेमा सहभागीहरूले जोड दिएका थिए ।
अन्तरक्रियामा उठेका जिज्ञासाहरूको निचोडसहित जबाफ कार्यालय प्रमुख श्रेष्ठले दिनुभएको थियो ।
श्रेष्ठले उद्योग निरीक्षण तथा अनुगमनका क्रममा पहिचान भएका त्रुटिहरू अनिवार्य रूपमा सुधार गरी निर्देशनहरूको पूर्ण पालना गर्न सके मात्र उपभोक्ताले स्वच्छ खाद्य वस्तु उपभोग गर्न पाउने स्पष्ट पार्नु भयो ।
उहाँले खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ लाई कडाइका साथ लागू गर्दै अनुगमन र निरीक्षण कार्यलाई थप प्रभावकारी बनाइ निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्नु भयो ।
कार्यक्रमको उद्देश्य उद्योगीहरूले अनिवार्य रूपमा पालना गर्नुपर्ने न्यूनतम मापदण्डबारे एकै स्थानमा जानकारी गराई सचेत बनाउनु रहेको जनाइएको छ ।
कार्यक्रममा सक्रिय सहभागिता जनाउँदै सुझाव प्रस्तुत गरेकोमा सम्पूर्ण उद्योगी–व्यवसायीप्रति आयोजक कार्यालयले धन्यवाद तथा आभार व्यक्त गरेको छ ।
प्रशिक्षकहरूबाट प्राविधिक तथा कानुनी पक्षमा उद्योगीहरूको भूमिका, हालको अवस्था र आगामी दिनमा गर्नुपर्ने सुधारका विषयमा समेत विस्तृत छलफल भएको थियो ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराका कार्यालय प्रमुख वरिष्ठ खाद्य अनुसन्धान अधिकृत विजन श्रेष्ठको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन खाद्य निरीक्षण अधिकृत अशोक गौतमले गर्नुभएको थियो ।
कार्यक्रममा गण्डकी प्रदेशभित्र खाद्य वस्तु उत्पादन गर्ने ९५ जना उद्योगी–व्यवसायीसहित कुल १०८ जनाको सक्रिय सहभागिता रहेको थियो ।