मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

स्वास्थ्य बीमा सेवा प्रदायक र लाभग्राहीबिच अन्तरक्रिया कार्यक्रम सम्पन्न

पोखरा । जिल्ला समन्वय समिति कास्कीको आयोजनामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक कार्यक्रम अन्तर्गत स्वास्थ्य बीमा सम्बन्धी सेवा प्रदायक र लाभग्राहीबीच अन्तरक्रिया कार्यक्रम २०८२ माघ १४ गते पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रममा जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले स्वास्थ्य बीमासम्बन्धि  नीति, नियम र कानुन प्रशस्त भए पनि तिनको प्रभावकारी कार्यान्वयन हुन नसक्नु दुःखद पक्ष भएको उल्लेख गर्नु भयो ।

उहाँले स्वास्थ्य बीमा बोर्डको संरचनागत सुधार, कमजोर दाबी व्यवस्थापनको सुदृढीकरण, अस्पतालहरूको क्षमता अभिवृद्धि, औपचारिक क्षेत्रको सक्रिय सहभागिता, सामाजिक सुरक्षाका छरिएका कार्यक्रमको एकीकृत व्यवस्थापन तथा नेपाल सरकारको अपनत्व बढाउन तत्काल पहल गर्नुपर्ने आवश्यकता औँल्याउनु भयो ।

प्रमुख पौडेलले स्वास्थ्य सेवा प्रदायक संस्थाको सेवा गुणस्तर निरन्तर सुधार गर्नुपर्ने र सेवाग्राहीका गुनासो समयमै सम्बोधन गर्न आग्रह गर्नु भयो ।

साथै सूचना प्रणालीको सुदृढीकरण, अस्पतालहरूमा ई–एम–आर प्रणाली लागू गर्नुपर्ने, सेवाको गुणस्तर निर्धारण तथा नियमन गर्नुपर्ने, आधारभूत अस्पताललाई बीमाबाट हटाउनुपर्ने, स्वास्थ्य बीमा ऐनको पूर्ण कार्यान्वयन, समयानुकूल प्रिमियम समायोजन गर्दै सुविधा विस्तार तथा प्रथम सेवा बिन्दुको अवधारणा हटाउनुपर्ने सुझावहरू प्राप्त भएको जानकारी दिनु भयो ।

उहाँका अनुसार स्वास्थ्य बीमासम्बन्धी जनगुनासोको प्रभावकारी सम्बोधनका लागि स्वास्थ्य बीमा बोर्ड, सेवा प्रदायक स्वास्थ्य संस्था तथा सम्बन्धित सरकारी निकायबिच सशक्त समन्वय आवश्यक रहेकाले तत्काल कार्ययोजना निर्माण गर्नुपर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा गण्डकी प्रदेश सरकार स्वास्थ्य मन्त्रालय अन्तर्गत चिकित्सा सेवा महाशाखाका प्रमुख डा. रमेशकुमार केसीले स्वास्थ्य बीमा कार्यक्रमको वर्तमान अवस्था र चुनौतीसम्बन्धी अवधारणापत्र प्रस्तुत गर्नु भयो ।

उहाँले हाल करिब ५० प्रतिशत जनसङ्ख्याले स्वास्थ्य बीमा सेवाबाट लाभ लिइरहेको जानकारी दिँदै प्रथम सेवा बिन्दु र प्रेषित बिरामीको उपचार गर्ने संस्थाबीचको समन्वयलाई गुणस्तरीय बनाउन केन्द्रित रहेको बताउनु भयो ।

कार्यपत्रमाथि स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेश संयोजक जिवलाल खरेल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. प्रेमराज पङ्गेनी, नेपाल बीमा प्राधिकरण पोखराका प्रमुख शम्भुप्रसाद मिश्र, नागरिक समाज कास्कीका संस्थापक संयोजक रामबहादुर पौडेललगायत १६ जनाले टिप्पणी तथा सुझाव प्रस्तुत गर्नुभएको थियो ।

वक्ताहरूले स्वास्थ्य बीमा, सामाजिक सुरक्षा योजना र कर्मचारी सञ्चय कोषजस्ता समान प्रकृतिका कार्यक्रम धेरै हुँदा व्यवस्थापनमा समस्या आएको बताउँदै बीमा कार्यक्रमलाई थप व्यवस्थित बनाउन बोर्ड, अस्पताल र सरकारी निकायबिच प्रभावकारी समन्वयसहित तत्काल कार्ययोजना आवश्यक रहेको निष्कर्ष निकाले ।

कार्यक्रम जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलको अध्यक्षतामा सम्पन्न भएको थियो ।

स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्य समन्वय समिति सदस्य सितादेवी विश्वकर्माले प्रस्तुत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन समन्वय अधिकारी नवराज बरालले गर्नुभएको थियो ।

कार्यक्रममा कास्की जिल्लास्थित सरकारी तथा निजी स्वास्थ्य संस्थाका प्रमुख तथा प्रतिनिधि, सङ्घ, प्रदेश र स्थानीय तहका प्रतिनिधि, नागरिक समाजका अगुवा, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि, औषधि व्यवसायी, सेवाग्राही तथा सेवा प्रदायक गरी करिब ६० जनाको सक्रिय सहभागिता रहेको थियो ।

Author

Related News