मानव आवाज

२०८२ फाल्गुन २४ गते
00: 00: 00
२०८२ फाल्गुन २४ गते

स्थानीय तहमा महिला र सुरक्षासम्बन्धी अन्तरक्रिया सम्पन्न

पोखरा । “प्रविधिको सही प्रयोग गरौँ: लैङ्गिक हिंसा अन्त्य गरौँ” भन्ने राष्ट्रिय नाराका साथ लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत प्रभातफेरी, जनचेतनामूलक कार्यक्रम तथा महिला, शान्ति र सुरक्षासम्बन्धी अन्तरक्रिया कार्यक्रम २०८२ मङ्सिर १४ गते कास्कीको अन्नपूर्ण गाउँपालिकामा आयोजना गरियो ।

सामाजिक विकास कार्यालय कास्कीको सहयोग तथा आमा मिलन केन्द्र कास्की, अन्नपूर्ण गाउँपालिका, एकल महिला समूह, महिला मानवअधिकार रक्षक सञ्जाल र गैरसरकारी संस्था महासङ्घ नेपाल कास्की शाखाको संयुक्त आयोजनामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीले-म हिंसा गर्दिनँ, हिंसा भएको हेरेर बस्दिनँ, हिंसा सहन्न भन्ने प्रतिबद्धता व्यक्त गर्दै दिगो विकास लक्ष्य हासिल गर्न लैङ्गिक हिंसाविरुद्धका कार्यक्रमहरू आवश्यक रहेको बताउनु भयो ।

गैरसरकारी संस्था महासङ्घ नेपाल कास्की शाखाकी अध्यक्ष इन्दिरा पौडेलले लैङ्गिक हिंसाविरुद्धको दिवससँगै सबै प्रकारका हिंसा अन्त्यका लागि आम नागरिक सचेत र जागरूक हुनुपर्ने धारणा राख्नु भयो ।

पीडितको न्यायका लागि सामूहिक आवाज बुलन्द बनाउन, समस्या समाधानका संरचना स्थानीय तहसम्म प्रभावकारी रूपमा पुग्ने व्यवस्था मिलाउन सबै पक्षको ध्यानाकर्षण गराउनु भयो ।

पौडेलका अनुसार प्रथा, परम्परा र अन्धविश्वासका कारण धेरै महिला अझै पनि हिंसा, विभेद र अपमानजनक व्यवहार सहन बाध्य छन् । यस्तो अवस्थामा तीनै तहका सरकारको भूमिका निर्णायक हुने उल्लेख गर्नु भयो ।

एकल महिला समूह कास्कीकी अध्यक्ष जुना केसीले महिला, शान्ति र सुरक्षा विषयक सत्रमा सहजीकरण गर्नु भयो ।

लैङ्गिक हिंसा अन्त्यका लागि सरकारी निकाय, सामाजिक सङ्घसंस्था, नागरिक समाज तथा महिला अधिकारकर्मीहरूको सक्रिय सहभागिताले अभियानमा थप उत्साह र ऊर्जा भरिएको आयोजक पक्षले जनाएको छ ।

अभियानअन्तर्गत आयोजित सचेतनामूलक र्‍याली अन्नपूर्ण गाउँपालिका-१ नागडाँडाबाट सुरु भई गाउँपालिकासम्म पुगेको थियो ।

र्‍यालीमा स्थानीय जनप्रतिनिधि, प्रहरी, नागरिक समाज तथा विभिन्न सामाजिक संस्थाका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

लैङ्गिक हिंसा अन्त्यका लागि २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म (२०८२ मङ्सिर ९ गतेदेखि २३ गतेसम्म) चल्ने १६ दिने अभियानअन्तर्गत विभिन्न गतिविधि सञ्चालन भइरहेको आयोजकहरूले जनाएका छन् ।

Author

Related News