मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकारसम्बन्धी अन्तरक्रिया

सिन्धुली । अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकारका विषयमा अन्तरक्रिया कार्यक्रम सिन्धुलीमाढीमा सम्पन्न भएको छ ।

सिन्धुली अपाङ्ग महिला सङ्घको आयोजनामा २०८२ माघ १७ गते सम्पन्न कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुको अधिकार संरक्षण, संवर्द्धन र प्रवर्धनका विषयमा छलफल गरिएको थियो ।

कार्यक्रमको उद्देश्यबारे जानकारी दिँदै सिन्धुली अपाङ्ग महिला सङ्घकी अध्यक्ष दिलकुमारी देवकोटा (दिपा)ले अपाङ्गता भएका व्यक्तिहरुको सवाललाई आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक अधिकारका रूपमा स्थापित गर्दै राज्यले सुनिश्चित गरेका हक–अधिकारको प्रभावकारी कार्यान्वयन गर्न कार्यक्रम आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रममा नवज्योति बहिरा माध्यमिक विद्यालयका प्रधानाध्यापक विजय तामाङले अपाङ्गता भएका नागरिकलाई विविधताको पहिचानसहित आत्मसम्मानपूर्वक जीवनयापन गर्ने अधिकार तथा सार्वजनिक सेवा र पहुँचको हकसम्बन्धी विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो ।

साथै, कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरुलाई कानुन बमोजिम प्राप्त सामाजिक सुरक्षाको हकबारे जानकारी प्रदान गरिएको थियो ।

स्वाधीन खबर पत्रिकाका प्रधान सम्पादक एवम् मानव आवाज सहकर्मी रुद्रबहादुर खड्काले अपाङ्गता भएका व्यक्तिहरुको राजनीतिक अधिकार स्थापना गर्न सञ्चार तथा सूचना आदान–प्रदानमा सहजीकरण आवश्यक रहेको बताउनु भयो ।

उहाँले उनीहरुबिच नेतृत्व, पैरवी तथा उद्यमशीलता सम्बन्धी क्षमता अभिवृद्धि कार्यक्रम सञ्चालन गरिने जानकारी दिँदै आउँदो प्रतिनिधिसभा निर्वाचनमा अपाङ्गता भएका व्यक्तिहरुले सहज रूपमा मतदान गर्न पाउने वातावरण निर्माण गर्नुपर्ने धारणा राख्नु भयो ।

सिन्धुली अपाङ्ग कल्याण सङ्घकी अध्यक्ष बबिता थापाले अपाङ्गता भएका व्यक्तिहरुको अधिकार प्रवर्द्धनका लागि सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने र उनीहरूमाथि हुने भेदभावको अन्त्य गर्न सबै पक्ष प्रतिबद्ध हुनुपर्ने बताउनु भयो ।

कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरु लगायत सरोकारवाला गरी करिब ४० जनाको सहभागिता रहेको थियो ।

Author

Related News