मधु पन्थी, पोखरा । जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीको आयोजनामा कास्की जिल्लामा अनिवार्य तथा नि:शुल्क शिक्षाको कार्यान्वयनसम्बन्धी अन्तरक्रिया कार्यक्रम २०८२ असार २३ गते सम्पन्न भयो।
जिल्ला शिक्षा समितिका संयोजक एवम् जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले प्रत्येक नागरिकलाई संविधानले प्रत्याभूत गरेको नि:शुल्क शिक्षाको अवधारणा कार्यान्वयनको तयारी हुनु सुखद् पक्ष भएको बताउनु भयो ।
उहाँले सबै स्थानीय तहमा योजनाबद्ध रूपमा सरकारको अनिवार्य तथा निःशुल्क शिक्षा कार्यक्रम कार्यान्वयनमा केन्द्रित हुन सरोकारवाला सबैको सहयोग र सुझाव आवश्यक हुने उल्लेख गर्नु भयो ।
जिल्ला शिक्षा विकास तथा समन्वय इकाई कास्कीका प्रमुख लोकनाथ आचार्यले नेपाल सरकारले अनिवार्य तथा नि:शुल्क शिक्षाको प्रावधान कार्यान्वयनको तयारी थालेको बताउनु भयो ।
उहाँले यसै अवसरमा कार्यक्रम आयोजना गरिएको बताउँदै हालसम्म जिल्लामा गरिएको तयारी र आगामी दिनमा गर्नुपर्ने कार्य, साथै रणनीतिक योजना निर्माणका विषयमा जानकारी दिनु भयो ।
चालू वर्षको अन्त्यसम्म योजना बनाएर कार्यान्वयनमा लैजान सबै स्थानीय तहलाई उहाँले आग्रह गर्नु भयो ।
कार्यक्रममा जिसस उपप्रमुख सरिता माल, राजनीतिक दलका प्रतिनिधि, स्थानीय तहका प्रमुख तथा उपप्रमुख, शिक्षा महाशाखा तथा इकाई प्रमुखहरू, शिक्षक तथा अभिभावक प्रतिनिधिहरू, विद्यालय व्यवस्थापन समितिका प्रतिनिधि तथा अन्य सरोकारवाला निकायका व्यक्तिहरूले अनिवार्य तथा नि:शुल्क शिक्षा कार्यान्वयनको सन्दर्भमा आ-आफ्ना धारणा राख्नु भएको थियो।