मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

विदेशी नागरिक व्यवस्थापन सूचना प्रणालीबारे अन्तरक्रिया सम्पन्न

पोखरा नेपाल सरकार गृह मन्त्रालय अन्तर्गत अध्यागमन विभाग, काठमाडौंको आयोजनामा विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली सम्बन्धी अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम २०८२ माघ १५ गते पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रममा अध्यागमन विभागका महानिर्देशक रामचन्द्र तिवारीले स्वागत मन्तव्य दिँदै विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली कार्यान्वयनको उद्देश्य र महत्वबारे प्रकाश पार्नु भयो ।

उहाँले अध्यागमन ऐन २०४९ तथा नियमावली २०५१ अनुसार नेपालभित्र विदेशी नागरिकको प्रवेश, बसोबास र प्रस्थानलाई नियमन गर्नुका साथै नेपाली नागरिकको आगमन–प्रस्थान व्यवस्थापन गर्नु अध्यागमन प्रशासनको प्रमुख जिम्मेवारी रहेको बताउनु भयो ।

महानिर्देशक तिवारीले अध्यागमन नियमन, यात्रुहरूको सुरक्षित र सहज आवागमन तथा पर्यटन प्रवर्द्धनबीच सन्तुलन कायम गर्दै राष्ट्रिय सुरक्षा र सुशासन प्रवर्द्धनमा विभाग निरन्तर क्रियाशील रहेको उल्लेख गर्नु भयो ।

मुलुकको अन्तर्राष्ट्रिय प्रतिष्ठा अभिवृद्धि, पर्यटन र वैदेशिक लगानी प्रवर्द्धनका लागि देशभित्र हुने सबै आवागमन तथा गतिविधि राज्यको जानकारीमा हुनु आवश्यक रहेको उहाँको भनाइ थियो ।

नेपाल पक्ष राष्ट्र रहेका विभिन्न अन्तर्राष्ट्रिय सन्धि–सम्झौताले अध्यागमनसम्बन्धी अभिलेख व्यवस्थापनको दायित्व सुम्पिएकाले ती प्रतिबद्धता पूरा गर्न विभागले विदेशी नागरिक व्यवस्थापन सूचना प्रणाली विकास गरेको जानकारी दिइयो ।

उक्त प्रणाली २०८२ असोज १ देखि लागू गर्ने कार्ययोजना रहे पनि पछिल्लो परिस्थितिका कारण कार्यान्वयन हुन नसकेको र अब सन् २०२६ मार्चदेखि कार्यान्वयनमा ल्याइने महानिर्देशक तिवारीले बताउनु भयो ।

कार्यक्रममा अध्यागमन विभागका अधिकृत पवनकुमार गुप्ताले प्रणालीसम्बन्धी प्रस्तुतीकरण गर्नु भयो ।

उहाँले प्रणाली कार्यान्वयनपछि नेपाल प्रवेश गर्ने विदेशी नागरिकको बसोबास तथा गतिविधिको व्यवस्थित अभिलेख रहने, आपतकालीन अवस्थामा खोज, उद्धार र सुरक्षा कार्य सहज हुने विश्वास व्यक्त गर्नु भयो ।

साथै सुरक्षा निकाय, पर्यटन व्यवसायी र सरोकारवाला निकायबीच सूचना आदान–प्रदान सरल र प्रभावकारी भई पर्यटन क्षेत्रको सुरक्षित तथा व्यवस्थित विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको बताउनु भयो ।

अन्तरक्रिया कार्यक्रममा अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख अध्यागमन अधिकृत नरहरी घिमिरे, गण्डकी प्रदेश उद्योग तथा पर्यटन मन्त्रालयका उपसचिव महराज ढकाल, लेखनाथ उद्योग वाणिज्य सङ्घकी अध्यक्ष जानुका पराजुली अधिकारी, होटल एशोसिएसन अफ नेपाल गण्डकी प्रदेशका अध्यक्ष हरि शर्मा गैरे, पोखरा उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोकर्ण कार्की तथा नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेश समिति महासचिव जमुना शर्मालगायतले धारणा राख्नु भयो ।

वक्ताहरूले उपत्यकाबाहिर पहिलो पटक एकीकृत कार्यक्रम आयोजना गरिएकोमा आभार व्यक्त गर्दै नीति तथा कानुन राम्रो भए पनि कार्यान्वयन पक्ष प्रभावकारी हुनुपर्नेमा जोड दिनु भयो ।

विदेशी नागरिक जिल्ला अनुगमन समितिका संयोजक एवम् कास्कीका प्रमुख जिल्ला अधिकारी रूद्रादेवी शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन अध्यागमन विभागका निर्देशक शिवप्रसाद लम्सालले गर्नुभएको थियो ।

कार्यक्रममा अध्यागमन विभाग, विदेशी नागरिक जिल्ला अनुगमन समिति, नेपाल पर्यटन बोर्ड पोखरा कार्यालय, जिल्ला सुरक्षा निकाय, विभिन्न सरकारी तथा निजी कार्यालय, नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेण्टस्, पोखरा च्याम्बर अफ कमर्श, होटल एशोसिएसन अफ नेपाल पोखरा, पर्यटन व्यवसायी महिला सङ्घ नेपाल, पोखरा पर्यटन परिषद, रेष्टुरेन्ट एण्ड बार एशोसिएसन पोखरा तथा नेपाल हवाई खेलकुद संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो ।

Author

Related News