मानव आवाज

२०८२ फाल्गुन २५ गते
00: 00: 00
२०८२ फाल्गुन २५ गते

पर्यटन क्षेत्रमा सुरक्षा व्यवस्थापनबारे पोखरामा अन्तरक्रिया

पोखरा । “सुरक्षित पर्यटन, हाम्रो अभियान” नारासहित पोखरा भ्रमण वर्ष २०२५, पोखरा महानगरपालिका र पोखरा पर्यटन परिषदको संयुक्त आयोजना तथा जिल्ला प्रहरी कार्यालय, कास्कीको समन्वयमा पर्यटन क्षेत्रमा सुरक्षा व्यवस्थापनसम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रम २०८२ साउन २८ गते पोखरामा सम्पन्न भयो ।

गण्डकी प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक दिनेशकुमार आचार्यले पर्यटन र सुरक्षा एक-अर्काका परिपूरक रहेको उल्लेख गर्दै सुरक्षाको अभावमा पर्यटन क्षेत्र फस्टाउन नसक्ने बताउनु भयो ।

नेपालका प्राकृतिक, ऐतिहासिक र सांस्कृतिक सम्पदाको प्रवर्धनमा पर्यटनको योगदान महत्त्वपूर्ण रहेको उहाँले जोड दिनु भयो ।

कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले छलफलबाट निस्कने निष्कर्षले आगामी दिनमा पर्यटन सुरक्षा नीति निर्माणमा टेवा पुर्‍याउने विश्वास व्यक्त गर्नु भयो । उहाँले व्यवसायीलाई मर्यादित र पर्यटनमैत्री सेवा दिन आग्रह गर्नु भयो ।

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक श्यामबावु ओलियाले पर्यटक सुरक्षामा कमी आए भ्रमणकर्ताले अन्य गन्तव्य रोज्न सक्ने बताउँदै यस कार्यक्रमको उद्देश्य पर्यटन सुरक्षासम्बन्धी चुनौती र अवसरबारे खुला छलफल गर्नु रहेको बताउनु भयो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका पूर्व सदस्य टिकाराम सापकोटाले पोखरा भ्रमण वर्ष २०२५ सम्बन्धी प्रवर्द्धनात्मक भिडियो र प्रस्तुति दिनु भयो ।

प्रहरी नायव उपरीक्षक हरीबहादुर बस्नेतले व्यवसाय दर्ता, रात्रिकालीन र पूर्णकालीन व्यवसाय सञ्चालन अनुमति, सुरक्षासम्बन्धी कानुनी व्यवस्था, सेवाग्राही र कर्मचारीको आचारसंहिता लगायतका विषयमा प्रस्तुति दिनु भयो ।

पर्यटन व्यवसायी बासु त्रिपाठीले व्यवसाय समय निर्धारण, नियमको कार्यान्वयन र सुरक्षाकर्मीले पनि आफ्नो आचारसंहिताको पालना गर्नुपर्नेमा जोड दिनु भयो ।

नेपाल पर्यटन बोर्डका पूर्व सदस्यसमेत रहनु भएका त्रिपाठीले रात्रिकालिन व्यवसाय र पुर्णकालिन व्यवसायको समय निर्धारणमा जोड दिनु भयो ।

अन्य वक्ताहरूले सरकारी निकाय, सुरक्षा निकाय, व्यवसायी, नागरिक समाज र पत्रकारको साझा प्रयासबाट मात्र सुरक्षित पर्यटकीय वातावरण बनाउन सकिने धारणा राख्नु भएको छ ।

पोखरा भ्रमण वर्ष २०२५ कार्यसम्पादन समितिका संयोजक गोपीबहादुर भट्टराईले पर्यटकको दीर्घकालीन आकर्षणका लागि सुरक्षा व्यवस्थापनलाई प्राथमिकता दिनुपर्ने उल्लेख गर्दै, सुरक्षित पर्यटन आजको आवश्यकता भएको बताए ।

कार्यक्रममा पोखरा महानगरपालिका, नागरिक समाज, सामुदायिक प्रहरी, पर्यटन परिषद, व्यवसायी र मिडियाकर्मीको सक्रिय सहभागिता रहेको थियो ।

Author

Related News