मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

निर्वाचन आचारसंहिता र मिडियाको भूमिकाबारे अन्तरक्रिया सम्पन्न

रद्रबहादुर खड्का, सिन्धुली

सिन्धुलीमा निर्वाचन आचारसंहिता तथा मिडियाको भूमिकाबारे अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

प्रेस काउन्सिल नेपालको आयोजना तथा नेपाल पत्रकार महासङ्घ सिन्धुलीको संयोजनमा २०८२ फागुन ६ गते सिन्धुलीमाढीमा कार्यक्रम गरिएको हो ।

कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले निर्वाचन आचारसंहितालाई नियन्त्रण वा प्रतिबन्धका रूपमा नबुझ्न आग्रह गर्दै यसले निर्वाचन प्रक्रियालाई मर्यादित र पारदर्शी बनाउन सहयोग गर्ने बताउनु भयो ।

उहाँले पत्रकार तथा सञ्चारमाध्यमलाई आचारसंहिता गहिरो अध्ययन गरी जिम्मेवार ढङ्गले समाचार सम्प्रेषण गर्न सुझाव दिनु भयो ।

“उम्मेदवारको हारजितको पूर्वानुमान गर्ने, पक्षपाती ढङ्गले समाचार प्रकाशन वा प्रसारण गर्ने तथा बहकिएर सामग्री सम्प्रेषण गर्ने कार्यबाट टाढा रहनुपर्छ ।”-उहाँले भन्नु भयो ।

त्यस्तै घृणा फैलाउने, भ्रम सिर्जना गर्ने तथा मतदाताको विवेकमा प्रत्यक्ष प्रभाव पार्ने सामग्री प्रकाशन, प्रसारण वा सामाजिक सञ्जालमार्फत शेयर-कमेण्ट नगर्न पनि उहाँले आग्रह गर्नु भयो ।

मतदातालाई मतदानमा सहभागी हुन उत्प्रेरित गर्ने सूचना र सन्देश प्रवाह गर्न सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

निर्वाचन सफल बनाउन मिडियाकर्मीको जिम्मेवारी उल्लेख गर्दै उहाँले सन्तुलित र तथ्यपरक समाचार सम्प्रेषणमा जोड दिनु भयो ।

कार्यक्रममा अन्य वक्ताहरूले पनि निर्वाचन सफल बनाउन सबैको साझा कर्तव्य रहेको बताउँदै निष्पक्ष, भयरहित र स्वस्थ वातावरणमा निर्वाचन सम्पन्न गर्न आग्रह गरेका थिए ।

जिल्लाका पत्रकारहरूले सामाजिक सञ्जालमा निर्वाचन आचारसंहिता उल्लङ्घनका सामग्री बढ्दै गएको उल्लेख गर्दै त्यसको प्रभावकारी नियमनका लागि काउन्सिलले ठोस कदम चाल्नुपर्ने सुझाव दिएका थिए ।

नेपाल पत्रकार महासङ्घ सिन्धुलीका अध्यक्ष बाबुराम देवकोटाको अध्यक्षतामा भएको कार्यक्रममा प्रेस काउन्सिल नेपालका सदस्य शन्तराम विँडारी, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदी, सहायक प्रमुख जिल्ला अधिकारी दिपेन्द्र पौडेल लगायत जिल्लाका क्रियाशील सञ्चारकर्मीहरूको सहभागिता रहेको आयोजकले जनाएको छ ।

Author

Related News