मानव आवाज

२०८३ असोज १६ गते
00: 00: 00
२०८३ असोज १६ गते

ज्येष्ठ नागरिकसँग अन्तरक्रिया तथा स्वास्थ्य परीक्षण

सिन्धुली । ३६औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस-२०२६ को अवसरमा कमलामाई नगरपालिका-५, सिलामेमा ज्येष्ठ नागरिकसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कमलामाई नगरपालिकाको आर्थिक सहयोग तथा वडा नं. ५ स्थित ज्येष्ठ नागरिक समाजको आयोजनामा कार्यक्रम गरिएको हो ।

कार्यक्रममा कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्रकुमार पोखरेलले ज्येष्ठ नागरिकलाई दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । साथै, ज्येष्ठ नागरिकले भोग्दै आएका समस्या, चुनौती र आवश्यकताका विषयमा अन्तरक्रिया गरी उहाँहरूका सुझाव तथा सल्लाह संकलन गरिएको थियो ।

सोही अवसरमा सिलामे स्वास्थ्य चौकीको सहकार्यमा ज्येष्ठ नागरिकको स्वास्थ्य परीक्षणसमेत गरिएको नगर प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख पोखरेलले ज्येष्ठ नागरिक परिवार, समाज र राष्ट्रका अनुभव तथा ज्ञानका अमूल्य स्रोत रहेको बताउनुभयो ।

उहाँले ज्येष्ठ नागरिकको सम्मान, संरक्षण र सहज जीवनयापनका लागि स्थानीय सरकार संवेदनशील र प्रतिबद्ध रहेको उल्लेख गर्नुभयो ।

ज्येष्ठ नागरिकका अनुभव, सुझाव र जीवनभोगाइलाई नयाँ पुस्तासँग जोड्दै पुस्तान्तरणलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै नगर प्रमुख पोखरेलले ज्येष्ठ नागरिकले उठाएका समस्या तथा दिएका सुझावलाई प्राथमिकताका साथ सम्बोधन गर्न नगरपालिका निरन्तर प्रयासरत रहने बताउनुभयो ।

कार्यक्रमले ज्येष्ठ नागरिकप्रति सम्मान र आत्मीयता अभिवृद्धि गर्नुका साथै उनीहरूका समस्या, आवश्यकता र अपेक्षालाई स्थानीय सरकारसम्म पुर्‍याउने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकले जनाएको छ ।

कार्यक्रममा विभिन्न सङ्घसंस्थाका प्रतिनिधि, स्थानीय तहका जनप्रतिनिधि, स्वास्थ्य चौकीका कर्मचारी, समाजसेवी तथा स्थानीय ज्येष्ठ नागरिकको सहभागिता रहेको थियो ।

Author

समाचार साझा गर्नुहोस्

ताजा समाचार

सम्बन्धित समाचार