मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

पोखरामा भयो-अपाङ्गता भएका बालबालिकाका आमाहरूद्वारा कथा वाचन

पोखरा । अपाङ्ग महिला सशक्तिकरण केन्द्र, पोखरा–कास्कीको आयोजनामा तथा वुमन्स फण्ड एसिया लिमिटेडको आर्थिक सहयोगमा अपाङ्गता भएका बालबालिकाका आमाहरूद्वारा ‘प्रेरणादायी कथा वाचन कार्यक्रम’ २०८२ माघ १३ गते पोखरामा सम्पन्न भएको छ ।

कार्यक्रमकी प्रमुख अतिथि पोखरा महानगरपालिकाकी उपमेयर मञ्जुदेवी गुरुङले महानगरपालिकाले अपाङ्गता भएका महिलाहरूको जीविकोपार्जन, हक–अधिकार, सचेतना, वकालत, परामर्श तथा सशक्तिकरणका क्षेत्रमा निरन्तर काम गर्दै आएको बताउनु भयो ।

उहाँले अपाङ्गता र लैङ्गिक हिंसाविरुद्धसम्बन्धी कार्यक्रमहरू स्थानीय समुदायसम्म पुर्‍याउन महानगर सक्रिय रहेको उल्लेख गर्नु भयो ।

साथै, पछिल्लो समय लैङ्गिक हिंसासम्बन्धी कार्यक्रमहरूमा टोल विकास संस्था र आमा समूहबाट महिला र पुरुषको समान सहभागिता नभएसम्म बजेट स्वीकृत नगर्ने नीति अपनाइएको जानकारी दिनु भयो ।

कार्यक्रमका विशेष अतिथि राष्ट्रिय अपाङ्ग महासङ्घ नेपाल, गण्डकी प्रदेशका अध्यक्ष हेमबहादुर गुरुङले अपाङ्गता भएका बालबालिकाका आमाहरूले बालबालिकाको हेरचाहमा लगानी गर्ने समय र श्रमलाई राज्यले राष्ट्रिय उत्पादनमा योगदानका रूपमा मान्यता दिनुपर्ने आवश्यकता औंल्याउनु भयो ।

उहाँले यस्ता आमाहरूका लागि विश्रामसहितको हेरचाह व्यवस्था सुनिश्चित गरिनु आवश्यक रहेको बताउँदै यसले आमा र बालबालिका दुवैको सुस्वास्थ्य र गुणस्तरीय जीवनको अधिकार सुनिश्चित गर्ने धारणा व्यक्त गर्नु भयो ।

अपाङ्ग महिला सशक्तिकरण केन्द्र, कास्कीकी संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक अञ्जना केसीले संस्थाले विगत लामो समयदेखि अपाङ्गता भएका महिलाहरूको क्षेत्रमा विविध रचनात्मक क्रियाकलाप सञ्चालन गर्दै आएको बताउनु भयो ।

उहाँले हाल संस्थाले “सञ्जाल निर्माण र वकालतमार्फत आमाहरूको सशक्तिकरण” परियोजना कार्यान्वयन गरिरहेको जानकारी दिनु भयो ।

कार्यक्रममा राष्ट्रिय मानवअधिकार आयोग, पोखरा कार्यालयकी प्रमुख नितु गर्तौलाले अपाङ्गता विषयलाई सम्बोधन गर्न सरोकारवाला निकायहरूको सक्रिय चासो आवश्यक रहेको र सरकारले बजेट तथा कार्यक्रममार्फत ठोस पहल गर्नुपर्नेमा जोड दिनु भयो ।

प्रेरणादायी कथा वाचन सत्रमा सुनिता पौडेल, पूजा विक, सरु अधिकारी र सुमना श्रेष्ठले आफ्ना जीवन अनुभवमा आधारित प्रेरणादायी कथाहरू प्रस्तुत गर्नुभएको थियो ।

अपाङ्ग महिला सशक्तिकरण केन्द्र, कास्कीकी अध्यक्ष रिना पालिखेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाकी संस्थापक अध्यक्ष तथा कार्यकारी निर्देशक अञ्जना केसीले स्वागत मन्तव्य तथा कार्यक्रमको उद्देश्यबारे प्रकाश पार्नुभएको थियो भने कार्यक्रम सञ्चालन केन्द्रकी कार्यक्रम अधिकृत कञ्चन पाण्डेले गर्नुभएको थियो ।

कार्यक्रममा गण्डकी प्रदेशभित्रका विभिन्न सामाजिक सङ्घसंस्थाका प्रमुख तथा प्रतिनिधिसहित ८० भन्दा बढी व्यक्तिको उल्लेखनीय सहभागिता रहेको थियो ।

Author

Related News