ललितपुर । सत्यनिरूपण तथा मेलमिलाप आयोगको सदस्य पदमा सिफारिस समितिले संक्षिप्त सूचीमा नाम समावेश गरेपनि वरिष्ठ अधिववक्ता राजुप्रसाद चापागाईंले छनौट प्रक्रियाका बाँकी चरणमा सहभागी नहुने जानकारी दिनु भएको छ ।
सङ्क्रमणकालीन न्याय प्रक्रियाका सर्वाधिक महत्वपूर्ण सरोकारवाला द्वन्द्वपीडित समुदायलाई प्रतिनिधित्व गर्ने ३६ ओटा संस्थाहरूले सङ्क्रमणकालीन न्याय आयोगहरूको पदाधिकारी छनोटका लागि जारी रहेको प्रक्रियाप्रति असहमति जनाई, उक्त प्रक्रियाको स्वामित्व ग्रहण नगर्ने स्पष्ट सन्देशसहित आजकै मितिमा संयुक्त वक्तव्य जारी गरेको जानकारी पाएपछि छनौट प्रक्रियामा सहभागी नहुने जानकारी दिनु भएको हो ।
उक्त संयुक्त वक्तव्यको बुँदा नं. ७ मा उल्लेख गरिएको छ: “समितिले अविश्वसनीय र अपारदर्शी प्रक्रिया अपनाएर पीडित समुदायलाई धोका दिएको हुनाले, समितिलाई सहयोग होस् भन्ने मनसायले विभिन्न द्वन्द्वपीडित सङ्घसंस्थाले सिफारिस गरेका व्यक्तिहरूको नाम सिफारिस फिर्ता लिन बाध्य भएको जानकारी गराउँछौं।”
‘यस सन्दर्भमा, द्वन्द्वपीडित समुदायले छनौट प्रक्रियामा स्वामित्व ग्रहण गर्ने अवस्था नबनेसम्म आगामी छनौट प्रक्रियाका बाँकी चरणहरू (प्रस्तुतीकरण लगायत)मा म सहभागी नहुने बिनम्र जानकारी गराउँछु।’-चापागाईंद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
सिफारिस समिति र नेपाल सरकारले पीडित समुदायबाट व्यक्त गरिएको गम्भीर चासो र सरोकारलाई गम्भीरतापूर्वक लिई यथोचित सम्बोधन गर्ने आशा र विश्वास लएको पनि चापागाईंले जानकारी दिनु भयो ।
चापागाईको नाम सिफारिस समितिको २०८२ वैशाख १५ गतेको सूचनाअनुसार संक्षिप्त सूचीको आवेदक नं. २३ मा रहेको थियो ।
आफूप्रति विश्वास र भरोसा राखी सत्यनिरूपण आयोगको सदस्य पदका लागि सिफारिस गर्ने समस्त द्वन्द्वपीडित सङ्घसंस्थाहरुप्रति र संक्षिप्त सूचीमा समावेश गरेकोमा सिफारिस समितिप्रति उहाँले आभारसमेत व्यक्त गर्नु भएको छ ।

सङ्क्रमणकालीन न्यायका काम गर्न नयाँ स्वायत्त सिफारिस समितिको माग, छोटो सूची निराशाजनक
सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगका लागि ३४ जनाको नाम संक्षिप्त सूचीमा
चापागाइँसँग गरिएको कुराकानी सुन्न यहाँ क्लिक गर्नुहोस्