मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

उद्योग, व्यवसाय नै देशको मेरूदण्डः उद्योगमन्त्री बस्याल

पोखरा । पोखरा चेम्बर अफ कमर्श कास्कीको छैठौँ साधारणसभा तथा नेपाल चेम्बर अफ कमर्शको हीरक जयन्ती वर्ष मनाउने क्रममा  २०८२ साउन १७ गते पोखरामा कार्यक्रम सम्पन्न भएको  छ । 

 कार्यक्रममा गण्डकी प्रदेश सरकारका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले  उद्योग व्यवसाय भनेको देशको मेरूण्ड रहेको बताउदै  व्यवसाय प्रवर्धन विना देश अगाडि बढ्न नसक्ने र  वर्तमान आर्थिक मन्दिको सामना गर्नको लागि उद्योगी, व्यवसायीलाई सहुलियतदरमा लगानी गर्न प्रदेश सरकार  कटिबद्ध रहेको बताउनु भयो । 

मन्त्री बस्यालका अनुसार असहज अवस्था पार लगाउन सरकार र निजी क्षेत्र लगायत आमनागरिकको सहकार्य आवश्यक छ ।

यसै अवसरमा मन्त्री बस्यालले चेम्बरको हीरक जयन्ती महोत्सवको लोगो समेत अनावरण गर्नु भएको छ । 

रूपा गाउँपालिकाका अध्यक्ष नवराज ओझाले खाली गाउँ र बाँझो जमीनमा  साना तथा मझौला उद्योग नखोले अर्थतन्त्रमा सुधार गर्न नसकिने र तीनै तहको सरकार मिलेर उद्योग व्यवसायको प्रवर्धन गर्नु आजको प्रमुख कार्यभार  रहेको बताउनु भयो ।

प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले उद्योगमैत्री वातावरण निर्माण गर्न, नागरिकमैत्री सेवा, निजी क्षेत्रलाई शान्ति सुरक्षा, सुशासन कायम राख्नु प्रशासनको प्रमुख दायित्व रहेक‍ो बताउँदै, वस्तु उत्पादन नागरिकमैत्री हुनुपर्नेमा ध्यान दिनै प्रतिस्पर्धी क्षमताको विकासमा ज‍ोड दिनु पर्ने भनाइ राख्नु भयो ।

गण्डकी प्रदेश चेम्बर अफ कमर्शका अध्यक्ष किसान सुनारले उद्योग, व्यवसायको प्रवर्धनका लागि सरकारले  ठोस नीति निर्माण गरेको भए पनी यसको कार्यान्वयनको पक्षमा  ध्यान दिनु पर्ने विषय महत्त्वपूर्ण रहेको    बताउनु भयो । 

कार्यक्रममा गण्डकी प्रदेश उद्योग वाणिज्य सङ्घका संस्थापक अध्यक्ष सञ्जीव कोइराला, पोखरा महानगरपालिका आर्थिक महाशाखाका निर्देशक मनोहर कडरीया, लेखनाथ उद्योग वाणिज्य सङ्घका अध्यक्ष विनोद श्रेष्ठ, स्याङजा चेम्बर अफ कमर्सका अध्यक्ष लोकनाथ रेग्मी, वरिष्ठ उपाध्यक्ष प्रेमप्रसाद सुवेदी, महिला उद्यमी मञ्च कास्कीका अध्यक्ष सरू बराल लगायतले शुभकामनासगै  उद्योग, व्यवसाय,आर्थिक क्षेत्रको  समस्या र समाधानका बारेमा आआफ्नो भनाइ राख्नु भएको थियो । 

हीरक जयन्तीको अवसरमा पोखरा चेम्बरले दीघार्यु अस्पतालसँगको सहकार्यमा स्वास्थ्य शिविर र स्थापनाको ७५ वर्ष पुगेको अवसरमा नेपाल चेम्बरले हीरक जयन्ती समारोह समिति गठन गरेर महोत्सवका गतिविधि कार्यक्रम गर्दै आएको  निवर्तमान अध्यक्ष यामनाथ पौडेलले जानकारी दिनु भयो ।

कास्की अध्यक्ष उमराज बास्तोलाले ७५ वर्षे गौरवशाली यात्राको क्रममा उद्योग व्यवसायको प्रवर्धनको लागि चेम्बर मेला, फुटसल, उद्योगी व्यवसायीसँग अन्तर्क्रिया लगायतका कार्यक्रम गरिने जानकारी दिनु भयो ।

कार्यक्रममा युवा उद्यमी शक्ति पाण्डे, संस्थाका निवर्तमान अध्यक्ष यमनाथ पौडेल, कार्य सम्पादनमा उत्कृष्ट पदाधिकारी सह-कोषाध्यक्ष बोधराज सुवेदी, कार्यसमिति सदस्य श्रीराम गौतम, संस्थाको आर्थिक उन्नयनमा योगदान गर्ने परमेश्वर दवाडी, सबै समिति, उपसमिति र विभाग मध्येबाट महिला चेम्बर अफ कमर्सका अध्यक्ष जमुना पौडेल, इकाईको तर्फबाट फेवा इकाइलाई सम्मान गरिएको छ भने  आजिवन, साधारण, कर्पोरेट, औद्योगिक सदस्य मध्येबाट नानुमाया तिमिल्सिना र दीर्घायु अस्पतालका कार्यकारी निर्देशक राधाकृष्ण पोखरेललाई सम्मान गरिएको थियो ।

सभाले संस्थाका महासचिव गोकर्ण अधिकारीले प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन र सह-कोषाध्यक्ष बोधराज सुवेदीले पेश गरेको आर्थिक प्रतिवेदन सर्वसम्मत पारित गरेको छ ।

Author

Related News