काठमाडौं । वर्षा र सहकालका देवता इन्द्रको पूजा-आराधना गरी २०८३ असोज ९ गते इन्द्रजात्रा पर्व मनाइँदैछ । प्रत्येक वर्ष भाद्रशुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व काठमाडौं, ललितपुर, भक्तपुर, धुलिखेल, दोलखालगायत स्थानमा मनाइन्छ ।
भाद्रशुक्ल द्वादशीका दिन हनुमानढोका अगाडि धार्मिक विधिपूर्वक इन्द्रध्वजासहितको लिंगो ठड्याइएपछि प्रारम्भ हुने यो जात्रा विभिन्न प्रकारका नाचगान, रथयात्रा र देवीदेवताको पूजाआजा गरी आठ दिनसम्म मनाउने प्रचलन छ ।
भाद्रशुक्ल द्वादशीका दिन ठड्याइएको लिंगोलाई ‘इन्द्रध्वजोत्थान’ पनि भनिन्छ । लिंगोको फेदमा भैरवको पूजा गरिन्छ ।
शत्रु पराजय भएपछि विजय मनाउने पर्वका रूपमा इन्द्रजात्रा मनाउने गरिएको हो । इन्द्रध्वजको पूजा गरी शक्ति प्राप्त गरेर प्रदर्शन गर्ने पर्वका रूपमा पनि इन्द्रजात्रालाई लिइन्छ ।
हिन्दु तथा बौद्ध परम्परा, जीवित देवी कुमारीको आराधना, इन्द्रध्वज स्थापना, रथयात्रा, विभिन्न देवीदेवताका परम्परागत नृत्य र स्थानीय नेवार संस्कृतिको गहिरो समन्वय यस पर्वको मुख्य विशेषता हो । इन्द्रजात्राका अवसरमा काठमाडौँ उपत्यकामा आज सार्वजनिक विदा छ ।