ललितपुर । वरिष्ठ तेलुगु अभिनेता कोटा श्रीनिवास रावको आइतबार निधन भएको छ । ८३ वर्षीय राव केही दिनदेखि बिरामी हुनुहुन्थ्यो ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार रावले चार दशकभन्दा बढीको करियरमा ७ सय ५० भन्दाबढी सिनेमामा अभिनय गर्नु भएको छ ।
रावले तमिलका अतिरिक्त विभिन्न भाषाका सिनेमामा पनि काम गर्नु भएको छ । उहाँको निधनमा तेलङ्गानाका मुख्यमन्त्री ए रेवन्त रेड्डी, आन्ध्र प्रदेशका मुख्यमन्त्री एन चन्द्रबाबु नायडू, अभिनेताबाट राजनीतिज्ञ बनेका तथा आन्ध्र प्रदेशका उपमुख्यमन्त्री पवन कल्याण र अन्य नेताहरूले शोक व्यक्त गरेका छन् ।
उहाँलाई सन् २०१५ मा पद्मश्रीबाट सम्मानित गरिएको थियो । सफल फिल्म करिअर बाहेक उहाँले राजनीतिमा पनि महत्वपूर्ण भूमिका खेल्नुभएको थियो । सन् १९९९ देखि २००४ सम्म उहाँ आन्ध्र प्रदेशको विजयवाडा पूर्वका विधायक हुनुहुन्थ्यो ।