पोखरा । जेन-जीको आन्दोलन चर्किएपछि कास्की जिल्ला प्रशासन कार्यालयले पोखरामा अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ ।
२०८२ भदौ २३ गते दिउँसो २ बजेदेखि लागू हुनेगरी प्रमुख जिल्ला अधिकारी रुद्रदेवी शर्माद्वारा हस्ताक्षरित आदेशअनुसार सहिदचोक, रत्नचोक र मासवार आसपास निषेधाज्ञा लागू भएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तोडफोड र आगजनी प्रयास भएपछि प्रहरीले बल प्रयोग गरेको थियो ।
भिड नियन्त्रणका क्रममा अश्रुग्यास, पानीको फोहोरा र गोली समेत प्रयोग गरिएको प्रत्यक्षदर्शीले बताएका छन् । मासवारतर्फको झडपमा गोली लागेर एक युवक गम्भीर घाइते भएका छन् ।
घटनामा ६ जना घाइते भएका छन् । घाइते हुनेमा पोखरा महानगरपालिका वडा नं १७ का २८ वर्षीय विनेश गुरुङ, वडा नं ५ जिरीकी २० वर्षीया शिक्षिका सुस्मिता गुरुङ र निश्चल भट्टराई रहनु भएको छ ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा तीन जना घाइतेको उपचार भइरहेको छ । उपचाररतमा ३२ वर्षीय रेशम शर्मा, १९ वर्षीय विवस घर्तिमगर र २९ वर्षीय विकास तिमल्सिना रहेको प्रतिष्ठानले सूचनामार्फत जानकारी दिएको छ ।
उहाँहरुको उपचार गण्डकी मेडिकल कलेज, मेट्रो सिटी अस्पताल, सृजनाचोक र पोखरा स्वास्थ्य प्रतिष्ठानमा भइरहेको छ । केही घाइते उपचारपछि घर फर्किएका छन् ।
प्रहरीले २० जना प्रदर्शनकारीलाई पक्राउ गरेको जनाएको छ । सामाजिक सञ्जाल बन्दको विरोधमा पोखराको सभागृहबाट सुरु भएको प्रदर्शन नयाँसडक, चिप्लेढुङ्गा हुँदै पृथ्वीचोक र सहिदचोक पुगेपछि मुख्यमन्त्री कार्यालय वरपर घेराउ भएको थियो ।
त्यही क्रममा सरकारी गाडीमा तोडफोड भएको र कार्यालयमा समेत तोडफोड प्रयास गरिएको प्रहरी स्रोतले जनाएको छ ।
युवाहरुले आन्दोलनलाई शान्तिपूर्ण बनाउन खोज्दा केही सीमित समूहको गतिविधिका कारण प्रदर्शन हिंसात्मक बनेको टिप्पणी गरेका छन् ।
