पोखरा । स्याङ्जा जिल्ला पुतलीबजार नगरपालिका–५ पौवै खोलामा मोटरेबल पुल निर्माण सम्पन्न भइ उद्घाटन भएको छ।
सिद्धार्थ राजमार्गको स्याङ्जा–पोखरा खण्डको विकल्पका रूपमा बाडखोला–पौवैगौंडे–टक्सार–दुलेगौंडा सडकखण्ड अन्तर्गत गण्डकी प्रदेश सरकारको लगानीमा १५.६ मिटर लम्बाइको पुल निर्माण गरिएको हो।
गण्डकी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्था मन्त्री प्रकाशबहादुर केसीले २०८२ साउन १० गते औपचारिक कार्यक्रमका बीच पुलको उद्घाटन गर्नुभयो।
मन्त्री केसीले प्रदेश सरकारले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर विकासका योजनाहरू अगाडि बढाएको बताउनुभयो।

‘दैनिक आवतजावत, व्यापार व्यवसाय, कृषि उत्पादनको ढुवानी र अन्य सामाजिक क्रियाकलाप अझ सहज हुनेछन्।
गण्डकी प्रदेश सरकारले जनताको आवश्यकतालाई प्राथमिकतामा राखेर योजना बनाउने, कार्यान्वयन गर्ने र प्रत्यक्ष लाभ पुग्ने गरी विकासको गति बढाइरहेको छ ।’-उहाँले भन्नुभयो।
उहाँले पुलको दिगोपन र नियमित मर्मत सम्भारमा स्थानीयको सक्रियता अत्यावश्यक रहेको पनि जोड दिनुभयो।
पूर्वाधार विकास कार्यालय स्याङ्जा र राङ्खोला सिद्धबाबा निर्माण सेवाबिच ०८१ वैशाख १७ गते १ करोड ८६ लाख ९२ हजार रुपैयाँमा ठेक्का सम्झौता भएको थियो।
निर्माण अवधि ०८२ साउन ६ गतेसम्म तोकिए पनि ०८२ असार २३ मै काम सम्पन्न भएको हो।
कार्यालय प्रमुख दयाराम अधिकारीका अनुसार अन्तिम भुक्तानी १ करोड ७५ लाख ६९ हजार रुपैयाँ गरिएको छ।
पुलको चौडाइ ८.४ मिटर छ, जसमा ६ मिटर गाडी गुड्ने र दुवैतर्फ २.४ मिटर फुटपाथको व्यवस्था गरिएको छ।
सार्वजनिक लेखा समितिका सभापति सुधिरकुमार पौडेलले भन्नु भयो-‘प्रदेश सङ्घीयताको कडी हो, आलोचना भए पनि प्रदेश सरकारले धेरै राम्रो काम गरिरहेको छ ।’
उहाँका अनुसार बाडखोला–पौवैगौंडे–टक्सार–दुलेगौंडा सडकलाई स्याङ्जा–पोखरा–तनहुँलाई मात्र जोड्ने नभई आर्थिक करिडोरको रूपमा उपयोग गर्न सकिनेछ।
प्रदेशसभा सदस्य पञ्चराम गुरुङले विकास तत्कालै हुन नसक्ने भएकाले प्राथमिकता र धैर्य दुवै आवश्यक रहेको बताउनु भयो ।
पूर्व अर्थमन्त्री सीताकुमारी सुन्दासले विगतमा स्याङ्जाबाट पोखरा पैदल हिँडेर ओहोरदोहोर गर्नुपरेको स्मरण गर्दै आजको अवस्थालाई ‘विकासको प्रमाण’ बताउनुभयो।
‘हिजोको आवश्यकता र स्रोतअनुसार विकास भयो, अब समयसापेक्ष विस्तार गर्नुपर्छ ।’-सुन्दासले भन्नु भयो ।
प्रदेश सांसद कल्पना तिवारीले सडकलाई आयआर्जनसँग जोड्ने खालका परियोजना आवश्यक रहेको भन्दै पोखराको नजिक होमस्टे सञ्चालनको सम्भावनामा जोड दिनुभयो। ‘विकासको पूर्णता कहिल्यै हुँदैन, यसलाई निरन्तर सुधार्दै लैजानुपर्छ ।’-उहाँले भन्नुभयो।