पोखरा । पोखरा महानगरपालिका-१० मा नवनिर्मित वडा प्रहरी कार्यालय रामबजारको कार्यालय, ब्यारेक तथा हिरासत भवन उद्घाटन गरिएको छ ।
नेपाल प्रहरीको नियमित बजेटबाट निर्माण सम्पन्न भवनको प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले बुधबार औपचारिक कार्यक्रमबिच उद्घाटन गर्नुभएको हो ।
यसअघि पोखरा-१५ रामबजारमा भाडाको घरबाट सञ्चालन हुँदै आएको वडा प्रहरी कार्यालयले २०८३ असार २४ गतेदेखि पोखरा-१० स्थित आफ्नै नवनिर्मित भवनबाट सेवा प्रवाह सुरु गरेको थियो ।
उद्घाटन कार्यक्रममा प्रहरी महानिरीक्षक कार्कीले आधुनिक भौतिक पूर्वाधारले प्रहरी सेवालाई थप जनमुखी, प्रभावकारी र नागरिकमैत्री बनाउन सहयोग पुग्ने बताउनुभयो ।
समुदायस्तरमा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुका साथै सामाजिक सञ्जाल र सार्वजनिक सूचना प्रणालीमार्फत नागरिकसँग समन्वयलाई थप प्रभावकारी बनाउने उहाँको भनाइ थियो ।

नयाँ भवन प्रहरी र नागरिकबिचको विश्वासको प्रतीक भएको उल्लेख गर्दै कार्कीले नागरिकप्रतिको प्रहरी दायित्वलाई अझ प्रभावकारी, संवेदनशील र परिणाममुखी ढङ्गले निर्वाह गर्न पूर्वाधारले महत्वपूर्ण आधार सिर्जना गरेको बताउनुभयो ।
निर्माणको प्राविधिक विवरण प्रस्तुत गर्दै प्रहरी नायव उपरीक्षक इन्जिनियर चिरञ्जीवी प्रताप महतोले सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ बमोजिम खुला बोलपत्रमार्फत इको बिल्डर, इको इन्जिनियरिङ जेभी, चितवनसँग २०७९ मङ्सिर २३ गते सम्झौता भएको जानकारी दिनुभयो ।
सम्झौताअनुसार मूल्य अभिवृद्धि कर तथा भेरिएसनसहित कुल १० करोड ५९ लाख ३३ हजार ८ सय ८९ रुपियाँको लागतमा निर्माण सम्पन्न भएको उहाँले बताउनुभयो ।
खर्च भएको रकमबाट कार्यालय भवन, ब्यारेक, हिरासत कक्ष, प्रतीक्षालय, कम्पाउन्ड वाल, मुख्य प्रवेशद्वार तथा आन्तरिक र बाह्य सौन्दर्यीकरणका काम सम्पन्न भएका छन् ।
मुख्य कार्यालय भवनको भुइँ तलामा कार्यालय प्रमुखको कार्यकक्ष, सभा हल, अपराध अनुसन्धान शाखा, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र, अनुसन्धान अधिकृत कक्ष र शौचालयसहित २ हजार ४५ वर्गफिट क्षेत्रफलमा संरचना तयार गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी उपरीक्षक नवीन कार्कीले वडा प्रहरी कार्यालय रामबजारको इतिहास र कठिन परिस्थितिबारे चर्चा गर्दै लामो समयसम्म भाडाका तथा स्थानीय नागरिकका घरटहरामा आश्रय लिएर प्रहरीले सेवा प्रवाह गर्दै आएको बताउनुभयो ।\

उहाँका अनुसार रामबजार प्रहरी कार्यालय २०१२ सालमा बिरौटामा सानो प्रहरी टुकडीका रूपमा स्थापना भएको थियो ।
२०४८ सालदेखि यस क्षेत्रमा वडा प्रहरी कार्यालयका रूपमा स्थापित भएपछि करिब ३५ वर्षसम्म स्थानीय नागरिकका घरटहरामा आश्रय लिएर सेवा प्रवाह गर्नुपरेको थियो ।
प्रहरीले कठिन परिस्थितिमा समेत नागरिकको सुरक्षामा निरन्तर सेवा दिएको स्मरण गर्दै कार्कीले विगतमा प्रहरी कर्मचारीले असहज भौतिक अवस्थामा समेत कर्तव्य निर्वाह गरेको बताउनुभयो ।
कठिन अवस्थामा प्रहरीलाई आश्रय र सहयोग गर्ने महेन्द्र कार्की, सोमनाथ बराललगायतका नागरिकप्रति उहाँले आभार व्यक्त गर्नुभयो ।
उहाँले २०८२ भदौ २४ गतेको दिन प्रदर्शनका क्रममा कास्की प्रहरीले समेत ठूलो क्षति व्यहोर्नुपरेको बताउनुभयो । जिल्ला प्रहरी कार्यालयसहित २७ ओटा प्रहरी युनिटमा क्षति पुगेको र केही युनिट पूर्ण रूपमा क्षतिग्रस्त बनेको उहाँले जानकारी दिनुभयो ।
सोही क्रममा कास्कीको रुपा निवासी प्रहरी सहायक हवल्दार अमृत गुरुङले काठमाडौंमा कर्तव्य पालनाका क्रममा ज्यान गुमाएको पनि उहाँले स्मरण गर्नुभयो ।
प्रहरी उपरीक्षक कार्कीका अनुसार क्षतिग्रस्त प्रहरी कार्यालयहरूको पुनर्निर्माण तथा सेवा पुनः सञ्चालनमा कस्केली नागरिक, स्थानीय तह, नागरिक समाज तथा विभिन्न सङ्घसंस्थाले उल्लेखनीय सहयोग गरेका थिए ।
प्रहरी कार्यालयहरूमा नागरिक स्वयम् उपस्थित भएर सहयोग गर्नु प्रहरी-नागरिक सहकार्यको उदाहरण भएको उहाँले बताउनुभयो ।
बैदाम, हेम्जा, डाँडाको नाकलगायतका प्रहरी कार्यालय नागरिकको सक्रियतामा जोगाउन सफल भएको उल्लेख गर्दै उहाँले प्रहरी र नागरिकबिचको सहकार्यले कठिन परिस्थितिलाई पार गर्न महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो ।
कास्की प्रहरी अहिले आधारभूत प्रहरी सेवामै सीमित भएर बस्न नहुने अवस्थामा रहेको उल्लेख गर्दै कार्कीले प्रविधिको विकाससँगै अपराधमा प्रविधिको प्रयोग बढेकाले प्रहरीको अनुसन्धान र सुरक्षा क्षमता पनि सोहीअनुसार विकास गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो ।

पर्यटकीय राजधानी पोखराको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी बनाउन कास्कीका विभिन्न क्षेत्रमा उच्च प्रविधियुक्त सीसीटीभी क्यामेरा विस्तार गर्नुपर्ने उहाँको भनाइ थियो ।
सुरक्षाको प्रत्याभूतिबिना पर्यटक आकर्षित गर्न कठिन हुने भएकाले आगामी वर्षमा यसलाई उच्च प्राथमिकताका साथ बजेटमा समेट्न उहाँले आग्रह गर्नुभयो ।
त्यस्तै, प्रहरी जनशक्ति र दरबन्दीको अवस्थाका कारण सेवा प्रवाह तथा ट्राफिक व्यवस्थापनमा चुनौती थपिँदै गएको उहाँले बताउनुभयो ।
कास्कीका विभिन्न प्रहरी युनिटको स्तरोन्नति र जनशक्ति व्यवस्थापनमा प्रहरी नेतृत्वबाट पहल हुने अपेक्षा रहेको उहाँले बताउनुभयो ।
वडा प्रहरी कार्यालय रामबजारका प्रमुख प्रहरी निरीक्षक तेजप्रसाद कँडेलले नयाँ भवनबाट दैनिक प्रशासनिक काम तथा सेवाग्राहीलाई छिटो, सहज र प्रभावकारी सेवा प्रदान गर्न सहयोग पुग्ने बताउनुभयो ।
गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका प्रहरी नायव महानिरीक्षक दिपेन्द्र जिसीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरीक्षक नवीन कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रमको सञ्चालन प्रहरी निरीक्षक कृष्णा बस्यालले गर्नुभएको थियो ।

कार्यक्रममा प्रदेश तथा जिल्लास्थित स्थानीय तहका प्रमुख, सुरक्षा निकायका प्रमुख, सरकारी निकायका प्रतिनिधि, अधिकारकर्मी, नागरिक समाज तथा स्थानीय सामाजिक सङ्घसंस्थाका प्रतिनिधिको सहभागिता थियो ।
यसै अवसरमा महानगरपालिकाका पूर्व प्रमुख मानबहादुर जिसीलाई सम्मान गरिएको थियो ।