मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

सहकारी सञ्चालक र सदस्य उत्तरदायी नभए सहकारी सङ्कटमा पर्छन्-रामप्रसाद सुबेदी

पोखरा । गैरसरकारी संस्था महासङ्घ नेपालका निर्वतमान अध्यक्ष तथा वरिष्ठ अधिकारकर्मी रामप्रसाद सुबेदीले सहकारी सञ्चालक र शेयरधनी सदस्यहरू उत्तरदायी नभए सहकारी संस्था सङ्कटमा पर्ने बताउनु भएको छ ।

असल छिमेकी बचत तथा ऋण सहकारी संस्था लि. पोखरा-१७ को २०८२ असोज ३१ गते आयोजित १६औं वार्षिक साधारणसभाको उद्घाटनका क्रममा सुबेदीले यस्तो बताउनु भएको हो ।

उहाँले सहकारी सञ्चालकहरूले सामान्य कुरामा ध्यान नदिँदा र सदस्यहरूले जिम्मेवारीपूर्वक सहभागिता नजनाउँदा सहकारीहरू क्षतिग्रस्त हुने अवस्था सिर्जना भएको बताउनु भयो ।

अधिकारकर्मी सुबेदीले सहकारीको स्थापना नै महिला तथा विपन्न वर्गलाई आर्थिक पहुँच दिलाउँदै उद्यमशीलता विकास गर्ने उद्देश्यले भएको बताउनु भयो । उहाँले नाफाभन्दा सेवामुलक कार्यलाई प्राथमिकता दिने संस्थाको दृष्टिकोणको प्रशंसा गर्नु भयो ।

सुबेदीले सहकारी सञ्चालक र सदस्यहरूबिचको उत्तरदायित्वको कमीका कारण सहकारीहरूले आर्थिक क्षति बेहोर्नु पर्ने अवस्था सिर्जना भएको बताउनु भयो ।

उहाँले सहकारी सञ्चालकहरूलाई संस्थाको उद्देश्य र सिद्धान्तअनुसार पारदर्शी र उत्तरदायी भएर काम गर्न आग्रह गर्नु भयो ।

अधिकारकर्मी सुबेदीले सहकारी सञ्चालक समितिको अधिकार, ऋण लगानी, असुली प्रणाली तथा कानुनी प्रावधानहरूको नियमित समीक्षा र अनुगमन गर्नुपर्नेमा जोड दिनु भयो ।

सभामा सचिव भीमप्रसाद सुवेदी (चुवाई)ले गत वर्षको कार्यप्रगति प्रतिवेदन, कोषाध्यक्ष कमलबहादुर पुनले आर्थिक प्रतिवेदन र लेखा संयोजक विजयप्रसाद आचार्यले लेखापरीक्षण प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तावित कार्यक्रम, अनुमानित आयव्यय, लेखापरीक्षक नियुक्ति, सुझाव तथा विविध विषयमा छलफल भएको थियो ।

संस्थाका अध्यक्ष रमानाथ आचार्यका अनुसार गत आर्थिक वर्षमा ३ सय ९६ शेयर सदस्यमार्फत १ करोड १३ लाख ५९ हजार ७ सय रुपियाँ चुक्ता पुँजी रहेकोमा चालु वर्षमा ३ सय ८१ सदस्यबाट ३ लाख ५३ हजार ५ सय रुपियाँ घटेर कुल शेयर पुँजी १ करोड १० लाख ६ हजार २ सय रुपियाँ पुगेको छ ।

गत वर्षको ३ करोड ४३ लाख ४१ हजार रुपियाँ निक्षेप यस वर्ष १५ लाख २० हजार ७ सयले वृद्धि भई ३ करोड ५८ लाख ६२ हजार ४ सय ६६ रुपियाँ पुगेको छ ।

त्यस्तै, ऋण लगानी गत वर्ष २ करोड ९९ लाख ८२ हजार ९ सय १३ रुपियाँ रहेकोमा यस वर्ष १ करोड ७९ लाख ५६ हजार ५ सय रुपियाँ नयाँ कर्जा लगानी गरिएको छ ।

यसै अवधिमा २ करोड १३ लाख ५८ हजार २ सय ५ रुपियाँ असुली भएको र अन्त्यसम्ममा १ सय २२ सदस्यलाई २ करोड ६५ लाख ८१ हजार २ सय ८ रुपियाँ ऋण लगानी रहेको छ ।

कार्यक्रममा संस्थापक अध्यक्ष स्व. खिममाया थापाको स्मृतिमा परिवारजन र शेयर सदस्यहरूले स्थापना गरेको २ लाख रुपियाँको अक्षयकोषबाट प्राप्त व्याजबाट विपन्न परिवारकी छात्रा रिना नेपालीलाई १३ हजार रुपियाँ शैक्षिक सामग्रीका लागि सहयोग हस्तान्तरण गरिएको थियो ।

कार्यक्रम संस्थाका अध्यक्ष रमानाथ आचार्यको अध्यक्षतामा सम्पन्न भएको थियो । उपाध्यक्ष केशकुमारी भुजेलले स्वागत मन्तव्य राख्नुभयो भने सचिव भीमप्रसाद सुवेदी (चुवाई)ले कार्यक्रम सञ्चालन गर्नु भयो ।

लेखा समितिका संयोजक विजयप्रसाद आचार्य र व्यवस्थापक जौ माया गुरुङले प्रस्तुत गर्नु भएको प्रतिवेदन, रणनीतिक योजना तथा प्रस्तावित कार्यक्रमहरू सुझाव सहित सर्वसम्मत रूपमा पारित गरिएको ऋण उपसमिति संयोजक प्रदीप सुबेदीले जानकारी दिनु भयो ।

Author

Related News