मानव आवाज

२०८२ फाल्गुन २३ गते
00: 00: 00
२०८२ फाल्गुन २३ गते

विद्यालय तहबाटै खेल प्रतिभाको पहिचान महत्त्वपूर्ण : मन्त्री थापा

पोखरा । ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नारासहित तथा ‘स्कुल–स्कुलमा भलिवल’ खेल प्रवर्धन गर्ने उद्देश्यले आयोजित सातौँ सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र/छात्रा भलिवल प्रतियोगिता २०८२ पुस २२ गतेदेखि पोखरा रङ्गशालास्थित भलिवल ट्रेनिङ सेन्टरमा सुरू भएको छ ।

सृजना विकास केन्द्रको आयोजना, कास्की जिल्ला खेलकुद विकास समितिको सहकार्य तथा जिल्ला भलिवल सङ्घ कास्कीको प्राविधिक सहयोगमा आयोजना गरिएको प्रतियोगिताको गण्डकी प्रदेश सरकारका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले रेफ्रि गोपाल थापालाई भलिवल हस्तान्तरण गर्दै उद्घाटन गर्नु भयो ।

उद्घाटन समारोहमा बोल्दै मन्त्री थापाले गण्डकी प्रदेश खेलकुदका लागि उर्वर क्षेत्र भएको उल्लेख गर्दै यस्ता प्रतियोगिताले राष्ट्रिय स्तरका उत्कृष्ट खेलाडी उत्पादन गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नु भयो ।

उहाँले खेलकुद प्रतियोगिताले विद्यालय तहबाटै खेल प्रतिभाको पहिचान, अनुशासन, नेतृत्व विकास र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्न उल्लेखनीय योगदान पुर्‍याउने बताउनु भयो ।

खेलले अनुशासन र भाइचाराको सम्बन्ध बलियो बनाउने भन्दै प्रदेश सरकार विद्यालयस्तरको खेलकुद प्रवर्धन तथा युवा प्रतिभाको संरक्षण र विकासमा निरन्तर प्रतिबद्ध रहेको उहाँले स्पष्ट पार्नु भयो ।

२०८२ पुस २२ देखि २४ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा कास्की जिल्लाका सामुदायिक (सरकारी) विद्यालयमा कक्षा १२ सम्म अध्ययनरत छात्र तथा छात्राहरूको सहभागिता रहेको छ ।

आयोजक संस्थाका अध्यक्ष चन्द्र गिरीका अनुसार प्रतियोगितामा छात्रतर्फ १६ र छात्रातर्फ सात टिम सहभागी छन् ।

संस्थाका उपाध्यक्ष तथा कार्यक्रम संयोजक बालकृष्ण बरालले प्रतियोगिताले विद्यार्थीहरूमा लुकेर रहेको खेल प्रतिभा उजागर गर्ने अवसर प्रदान गरेको बताउनु भयो ।

प्रतियोगितामा छात्र तथा छात्रा दुवैतर्फका विजेता टिमलाई समान १ लाख रुपियाँ, उपविजेतालाई ६० हजार रुपियाँ र तृतीय स्थान हासिल गर्ने विद्यालयलाई ३५ हजार रुपियाँ नगद पुरस्कारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यसैगरी वेस्ट प्लेयरलाई ५ हजार रुपियाँ नगद र ट्रफी, उत्कृष्ट प्रशिक्षकलाई दुई–दुई हजार रुपियाँ पुरस्कार प्रदान गरिनेछ ।

साथै बेस्ट स्पाइकर, बेस्ट ब्लकर, बेस्ट डिफेन्डर, बेस्ट सेटर र बेस्ट सर्भर विधामा उत्कृष्ट खेलाडीलाई छात्र–छात्रातर्फ जनही एक–एक थान भलिवल प्रदान गरिने कार्यक्रम संयोजक बरालले जानकारी दिनु भयो ।

कार्यक्रममा पोखरा उद्योग वाणिज्य सङ्घका महासचिव शोभा गौतमले खेलकुदले अनुशासन, नेतृत्व क्षमता र स्वस्थ प्रतिस्पर्धाको भावना विकास गर्नुका साथै विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा सकारात्मक भूमिका खेल्ने बताउनु भयो ।

त्यस्तै टाइगर ग्रुप नेपालका अध्यक्ष नारायण पौडेल, कास्की जिल्ला खेलकुद विकास समितिका अध्यक्ष मिलन गुरूङ, सृजना विकास केन्द्रका सल्लाहकार सभापति लिलाधर बराललगायतले खेल खेल्नु मात्र होइन, सफल र सक्षम खेलाडी उत्पादन गर्नु नै मुख्य लक्ष्य हुनुपर्ने धारणा राख्दै प्रतियोगिताको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

सृजना विकास केन्द्रका अध्यक्ष चन्द्र गिरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष बालकृष्ण बरालले स्वागत तथा कार्यक्रमको उद्देश्य माथि प्रकाश पार्नुभएको थियो भने सञ्चालन पूर्व अध्यक्ष मिनप्रसाद भट्टराईले गर्नुभएको थियो ।

Author

Related News