मानव आवाज

२०८३ असोज २१ गते
00: 00: 00
२०८३ असोज २१ गते

‘प्रशिक्षकबाट दुईपटक वाचा तोडिएपछि शिविर छोडेँ’-रोनाल्डो

काठमाडौँ । पोर्चुगलका कप्तान तथा स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले प्रशिक्षक जर्ज जिसले आफूसँग गरेको सहमति दुईपटक तोडेको आरोप लगाउनुभएको छ ।  

प्रशिक्षकसँगको सहमति कार्यान्वयन नभएपछि आफूले टोलीको प्रशिक्षण शिविर छोडेको रोनाल्डोले बताउनुभएको छ ।

४१ वर्षीय रोनाल्डोले गत साता डेनमार्कविरुद्धको नेसन्स लिग खेलअघि कोपेनहेगनबाट पोर्चुगलको टोली छाड्नुको कारणबारे लामो वक्तव्यमार्फत आफ्नो धारणा सार्वजनिक गर्नुभएको हो ।

रोनाल्डोका अनुसार फिटनेस व्यवस्थापनका लागि नर्वे र डेनमार्कविरुद्धका खेलमा आफूलाई नखेलाउने सहमति प्रशिक्षक जिससँग भएको थियो । तर, नर्वेविरुद्धको खेलका दिन जिसले उहाँलाई ३० मिनेट मैदानमा उतार्ने बताउनुभएको थियो ।

‘सबैलाई बाँकी कुरा थाहा छ । दोस्रो हाफदेखि मैले वार्मअप गरिरहेँ, समय बित्दै गयो तर मलाई मैदानमा पठाइएन ।’-रोनाल्डोले भन्नुभएको छ-‘प्रशिक्षकले मसँग गरेको वाचा तोड्नुभयो ।’

त्यस घटनापछि प्रशिक्षक जिससँग आफ्नो अर्को बैठक भएको रोनाल्डोले बताउनुभएको छ । बैठकमा उहाँको क्लब अल नासरका खेल निर्देशक सिमाओ काउटिन्होसमेत सहभागी हुनुहुन्थ्यो ।

सो क्रममा आगामी पत्रकार सम्मेलनमा घटनाबारे सार्वजनिक रूपमा स्पष्ट पार्ने सहमति भएको उहाँको भनाइ छ ।

रोनाल्डोका अनुसार यसका लागि आठबुँदे दस्तावेजसमेत तयार गरिएको थियो । दस्तावेजमा आफूले निश्चित समय खेल्नुपर्ने माग नगरेको, प्रशिक्षकका निर्णयको सम्मान गरेको र आफूलाई लामो समय वार्मअप गराएर पनि मैदानमा नपठाउनु प्रशिक्षकको गल्ती भएको उल्लेख थियो ।

यद्यपि, प्रशिक्षकले आफूसँग माफी माग्नुपर्ने सहमति भने नभएको रोनाल्डोले स्पष्ट पार्नुभएको छ । तर, जिसले पछि सार्वजनिक रूपमा दिएको अभिव्यक्ति आफूहरूबिच भएको निजी छलफलसँग मेल नखाएको उहाँको दाबी छ ।

‘उहाँले मसँग गरेको वाचा दोस्रोपटक तोड्नुभयो । त्यसैले फेरि अर्को वाचा तोडिने प्रतीक्षा नगरी प्रशिक्षण शिविर छोड्ने निर्णय गरेँ ।’-रोनाल्डोले भन्नुभयो ।

Author

सम्बन्धित समाचार