पोखरा । गण्डकी प्रदेशका निवर्तमान स्वास्थ्यमन्त्री कृष्णप्रसाद पाठकले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्दै पदबाट बिदा भएको बताउनु भएको छ ।
उहाँले विवादरहित रूपमा ऐतिहासिक जिम्मेवारी पूरा गरेको उल्लेख गर्दै स्वास्थ्य मन्त्रालयको जिम्मेवारीबाट अलगिएको बताउनुभएको हो ।
पाठकले एक विज्ञप्ति जारी गर्दै १ वर्ष ५ महिना १५ दिनको अवधिमा स्वास्थ्य मन्त्रालय सम्हाल्ने अवसर पाएको र यस अवधिमा गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण तथा दीर्घकालीन प्रभाव पार्ने कामहरू सम्पन्न गरिएको उल्लेख गर्नुभएको छ ।
उहाँका अनुसार प्रदेश अस्पतालहरूको स्तरवृद्धि, शैया सङ्ख्या विस्तार, दीर्घकालीन रूपमा रोकिएका संरचना तथा व्यवस्थापनसम्बन्धी काम सम्पन्न, विशेषज्ञ तथा विशिष्ट सेवा विस्तार, औजार उपकरण व्यवस्थापन, स्वास्थ्य संस्थाहरूको संरचनागत सुधार, चिकित्सा शिक्षा अध्ययनको अन्तिम तयारी, जनस्वास्थ्य सेवा ऐन निर्माणलगायतका उपलब्धि हासिल भएका छन् ।
यस्तै, विशेष जनशक्तिको व्यवस्थापन, अस्पताल पूर्वाधार निर्माण, आयुर्वेद सेवाको विस्तार, मातृ तथा नवजात शिशु सेवा सुधार, ज्येष्ठ नागरिक, बालबालिका तथा मानसिक रोगीहरूको निःशुल्क उपचारजस्ता कार्यक्रमहरू पनि प्रभावकारी रूपमा अघि बढाइएको उहाँले बताउनुभयो ।
पाठकले आफ्नो कार्यकाललाई गण्डकी प्रदेशको स्वास्थ्य क्षेत्र सुधारका लागि ऐतिहासिक अवसरका रूपमा लिएको उल्लेख गर्दै बिना कुनै दाग र विवाद आफ्नो जिम्मेवारी पूरा गर्न पाएकोमा गौरव महसुस गरेको बताउनुभएको छ ।
उहाँले आफ्नो कार्यकाल सफल बनाउन सहयोग गर्ने पार्टी नेतृत्व, प्रदेश सरकार, मन्त्रालयका कर्मचारी, स्वास्थ्यकर्मी तथा सम्पूर्ण सरोकारवालाप्रति आभार व्यक्त गर्नुभएको छ ।
नवगठित मन्त्रिपरिषद्का नयाँ स्वास्थ्य मन्त्रीलाई सफल कार्यकालको शुभकामना समेत दिनुभएको छ ।
