ललितपुर । पछिल्लोपटक अगाडि बढाइएको सङ्क्रमणकालीन न्याय आयोगका पदाधिकारी छनौट प्रक्रियाप्रति गम्भीर असहमति प्रकट गर्दै द्वन्द्वपीडित समुदायले २०८२ वैशाख १८ गते सार्वजनिक रूपमा व्यक्त गरेको “खबरदारी” तथा सरोकारप्रति मानवअधिकार संस्थाहरूले ऐक्यबद्धता जनाएका छन् ।
‘द्वन्द्वपीडित सङ्क्रमणकालीन न्याय प्रक्रियाका मुख्य सरोकारवाला हुन्। यो प्रक्रिया पीडित–केन्द्रित नभई सफल हुन सक्दैन भन्ने व्यवहारसिद्ध तथ्य हो। समस्त पीडित समुदायलाई प्रतिनिधित्व गर्ने ३६ संस्थाहरू एक ठाउँमा आएर छनौट प्रक्रियाको स्वामित्व नलिने सन्देश सार्वजनिक गर्नु सामान्य कुरा होइन-यो गम्भीर विषय हो।’-मानव अधिकार सङ्घसंस्थाले २०८२ बैशाख २३ गते जारी विज्ञप्तिमा भनिएको छ ।
पदाधिकारी छनौटका नाममा पटक–पटक एउटै व्यक्तिहरूलाई राखी सिफारिस समिति गठन गरिनु, पुरानै ढर्रामै छनौट प्रक्रिया अगाडि बढाइनु र प्रक्रिया विश्वसनीय तथा पारदर्शी बनाउनेभन्दा झन् यान्त्रिक र कर्मकाण्डी बनाएको १० संस्थाले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
उनीहरूले उपयुक्त व्यक्तिको सक्रियतापूर्वक खोजी नगरी, दलीय भागबण्डाको आधारमै नाम सिफारिस गर्नेतर्फ अग्रसर हुनु जस्ता कारणले नै छनौट प्रक्रियाप्रति पीडित समुदायको विश्वास र भरोसा टुट्दै गएको बताएका छन् ।