काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले सर्वोच्च अदालतका पूर्वप्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई नेपाल प्रहरीले पक्राउ गरेको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ ।
आयोगले आफ्नो अनुगमन टोलीलाई जबरासँग भेट गरी जानकारी लिनसमेत प्रहरीले रोक लगाएको भन्दै आपत्ति जनाएको हो ।
घटनाबारे अनुगमन गर्न आयोगका माननीय सदस्य नेतृत्वको उच्चस्तरीय टोली २०८३ असोज ११ गते टेकुस्थित प्रहरी परिसर पुगेको थियो । तर, नेपाल प्रहरीले आयोगको टोलीलाई जबरासँग भेट गरी जानकारी लिन रोक लगाएको आयोगले जनाएको छ ।
आयोगका अनुसार अनुगमनका लागि प्रहरीको उच्च नेतृत्वसँग कुराकानी गर्दा आयोगको टोलीलाई अनुगमन गर्न नदिइनुको कारणसमेत जानकारी गराइएको थिएन ।
राष्ट्रिय मानव अधिकार आयोग ऐन, २०६८ को दफा ४(क) मा सार्वजनिक संस्था, निजी संस्था वा अन्य स्थानको निरीक्षण तथा अनुगमन गर्ने र मानवअधिकार संरक्षणका लागि त्यस्ता निकाय, संस्था वा ठाउँमा गर्नुपर्ने सुधारका सम्बन्धमा सम्बन्धित निकायलाई आवश्यक सुझाव तथा निर्देशन दिन सक्ने व्यवस्था रहेको आयोगले स्मरण गराएको छ ।
आयोगले संवैधानिक तथा कानुनी अधिकार प्रयोग गरी अनुगमनमा गएको आफ्नो टोलीलाई नेपाल प्रहरीले रोक्नु संविधान तथा कानुनले सुनिश्चित गरेको मानव अधिकारसम्बन्धी अधिकारविपरीत भएको जनाएको छ ।
आयोगले घटनाको निष्पक्ष छानबिन गरी संवैधानिक तथा कानुनी दायित्व पूरा गर्ने कार्यमा अवरोध सिर्जना गर्ने प्रहरी कर्मचारीलाई कानुनी दायरामा ल्याउन तथा आयोगलाई प्राप्त संवैधानिक एवम् कानुनी अधिकारको सम्मान गर्न नेपाल सरकारको ध्यानाकर्षण गराएको छ ।
